धनगढी । अछामको विकट रामारोसन गाउँपालिका–४ मा जन्मिएका देवानन्द र पारु न्यौपानेका तीन छोराहरू एकैपटक नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) छन्। यो उपलब्धि नेपाली समाजमा निकै दुर्लभ मानिन्छ।
जेठो छोरा सिद्धराज न्यौपाने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पिएसओका रूपमा कार्यरत छन्। २०६३ मा प्रहरी निरीक्षकबाट सेवा थालेका उनले २०७४ मा डिएसपीमा बढुवा पाए। उनी चाँडै प्रहरी उपरीक्षक (एसपी) मा बढुवा हुने पंक्तिमा छन्।
माइलो छोरा केशर न्यौपाने हाल सल्यान जिल्लाको प्रहरी कमाण्ड सम्हालिरहेका छन्। २०७० मा निरीक्षक बनेका उनी २०८० मा डिएसपीमा पदोन्नति भए। विभिन्न जिल्लामा कुशलता पूर्वक कमाण्ड सम्हालेका उनी जनमैत्री व्यवहारका कारण चर्चित छन्।
कान्छा छोरा मुकेश न्यौपाने २०७६ मा निरीक्षक भई हाल रुपन्देहीको बेलैया इलाका प्रहरी कार्यालयमा कार्यरत छन्।
शिक्षक देवानन्द न्यौपाने ४४ वर्षको सेवा पछि हालै मात्र अवकाश प्राप्त गरेका हुन्। उनले कुनै राजनीतिक पहुँच नहुँदा पनि छोराहरूको मेहनतले यो सफलता प्राप्त भएको गर्वका साथ बताएका छन्।
न्यौपाने परिवारका अन्य सन्तानमध्ये चन्द्रप्रकाश इन्जिनियर छन् भने छोरी कविता दार्चुला अस्पतालमा कार्यरत चिकित्सक हुन्। हाल उनीहरू कैलालीको जानकी गाउँपालिका, बन्देवीपुरमा स्थायी रूपमा बसोबास गर्छन्।
प्रतिक्रिया दनुहोस्