काठमाडौं । झ्यापझ्याप बत्ती जाने क्रम बढेको भन्दै सांसदहरूले विरोध गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसदहरुले विद्युत्को नियमित आपूर्ति सुनिश्चित गर्न माग गरेका छन् भने विद्युत् श्रमिकहरुको सुरक्षामा लापरबाही बढेको भन्दै सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसद सूर्यमान तामाङ, शिव नेपाली र ज्ञानबहादुर शाहीले विद्युत् श्रमिकहरूको सुरक्षामा गम्भीर लापरबाही बढेको भन्दै विरोध जनाए । उनीहरूको सुरक्षामा ध्यान दिन माग गरे ।
कुलमान घिसिङको बर्खास्तीसँगै विद्युत् आपूर्तिमा समस्या भइरहेको उनले प्रश्न गरे,’अहिले झ्यापझ्याप विद्युत् गइरहेको छ । कुलमान हुँदा लोडसेडिङ थिएन । जनताहरू अब अँध्यारोमा बस्नुपर्ने हो?’
विद्युत् प्राधिकरणको गैर जिम्मेवारीपनका कारण काभ्रेमा उज्वल दमाइको मृत्यु भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् । विद्युत्को पोलमा तार जडान गरिरहेका बखत अकस्मात् विद्युत् प्रवाह हुँदा उनको ज्यान गएको थियो ।
सांसद शिव नेपालीले घरघरमा अन्धकार भइरहेको भन्दै विरोध गरे । ‘सिंहदरबारमा पनि अन्धकारमा बस्न बानी परेका छन् । झ्याझ्याप बत्ती गइरहेको छ । प्राधिकरणको लापरबाहीले श्रमिकहरूको ज्यान गइरहेको छ । श्रमिकहरूको सम्मान र सुरक्षाको माग गर्दछु । स्पष्ट सुरक्षा मापदण्डसहित श्रमिकहरूलाई काममा खटाइयोस्,’ उनले भने ।
यस्तै, सांसद ज्ञानबहादुर शाहीले काभ्रेमा विद्युत् प्राधिकरणको श्रमिकको हत्या भएको आरोप लगाए । ‘काभ्रेमा तार जडानका क्रममा करेन्ट लागेर मृत्यु भएका श्रमिकको दुर्घटना होइन हत्या भएको हो । दोषीलाई कारबाही होस्,’ उनले भने ।
सांसद अब्दुल खानले विद्युत् श्रमिकहरूको ज्यान जाने क्रम बढेको भन्दै सुरक्षामा ध्यान दिन माग गरे ।
प्रतिक्रिया दनुहोस्