धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचार संरक्षणमा केन्द्रित भएको बताएका छन् । बैतडीको पाटनमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान उद्वाटन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचार संरक्षण र थप भ्रष्टाचार गर्नमा मात्रै अहिलेको सरकार केन्द्रित भएका बताएका हुन् ।
उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिका नाममा पनि अनेक चलखेल र प्रपञ्च भइरहेको आरोप लगाए । ‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो,’ उनले भने, ‘तर, अनेक खालका चलखेल र प्रपञ्च भइरहेका छन् । यो सरकार विल्कुल गलत दिशातिर गएको छ । राष्ट्र र जनताको विरुद्ध गएको छ ।’
भ्रष्टाचारको अन्त्य गर्नको लागि माओवादी केन्द्र बलियो हुन आवश्यक रहेको प्रचण्डको दाबी थियो । ‘माओवादी बलियो भए नेपाली जनता बलियो हुने हो,’ उनले भने, ‘०६४ जस्तै ०८४ मा माओवादीको हात बलियो बनाउन आग्रह गर्दछु ।’
माओवादीले हुलाकी राजमार्ग केन्द्रीत तराई मधेस जनजागरण अभियानपछि मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको हो । अभियानको उद्वाटन कार्यक्रममा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङलगायतले सहभागी छन् ।
प्रतिक्रिया दनुहोस्