धनगढीका अधिकांस खानेपानी संस्थानको मूल टँकीमै कोलिफम

धनगढीः नेपाल खानेपानी संस्थानले धनगढीमा वितरण गर्ने पानीमा कोलिफम भेटिएको छ।

धनगढी उपमहानगरले गरेको परीक्षणमा खानेपानी संस्थानले वितरण गर्ने पानीमा कोलिफम भेटिएको हो।

Seti Hospital

धनगढी उपमहानगरपालिकाले नेपाल खानेपानी संस्थानको विभिन्न ठाउँको पानी टंकी, शिवनगर खानेपानी तथा व्यक्तिका नल, खानेपानीको धारा तथा घरमा भरेको पानीको नमुनाहरू सङ्कलन गरेर परीक्षण गर्दा जुगेडास्थित खानेपानी मुल टँकीको पानीमा कोलिफम फेला परेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। उनले अधिकांश नल, डिप बोरिङ, घरको खानेपानीको धारा तथा जुगेडामा रहेको खानेपानी संस्थानको मूल टँकीको पानीमा कोलिफम फेला परेको बताए।

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका खानेपानीको टंकी र व्यक्तिगत धारा र नलको विभिन्न ४५ वटा पानीको नमुना सङ्कलन गरेर परीक्षण गरेको हो। जुगेडास्थित खानेपानी टँकीको दुई पटक नमुना परीक्षण गरिएकोमा दुबै पटक कोलिफम देखा परेको अवस्थीले बताए। ‘हामीले १९ वटै वडाको विभिन्न स्थानबाट ४५ नमुना संकल्प गरेर परीक्षण गर्दा जुगेडास्थित खानेपानीको मुल टंकी र सबैजसो नल तथा आर्टिजनको पानीमा कोलिफम अर्थात् दिशाजन्य पदार्थ भेटिएको छ,’ उनले भने, ‘जुगेडाको खानेपानीको मुल टंकीकै पानीमा कोलिफम भेटिएको छ। पहिलो पटक कोलिफमको मात्रा प्रति सय एमएल पानीमा ४ सिएफयु भेटिएकोमा दोस्रो पटक नमुना परीक्षण गर्दा दुई सिएफयु फेला परेको छ।’

जुगेडाको मुल टंकीको खानेपानीमा कोलिफम देखा परे पनि अन्यत्रको खानेपानी संस्थानको पानी तथा शिवनगर खानेपानी योजनाको मुल टंकीको पानीमा भने कोलिफम फेला नपरेको अवस्थीले बताए।

आर्टिजन र नलको पानीमा कोलिफम अत्यधिक

धनगढी उपमहानगरपालिका क्षेत्रमा हालिएका सार्वजनिक र निजी नल तथा आर्टिजनको पानीमा अत्यधिक कोलिफम फेला परेको छ।

प्रति एक सय मिलिमिटर पानीमा शून्य सिफयू हुनुपर्नेमा वडा नम्बर १७ को आधारभूत स्वास्थ्य केन्द्रको आर्टिजनको पानी तथा वडा नम्बर १८ मा वडा कार्यालयको हातेपम्पको पानीमा कोलिफमको मात्रा सबैभन्दा बढी फेला परेको उपमहानगरले जनाएको छ।

दुबै स्थानको पानीमा किलिफमको मात्रा एक सय सिएफयू फेला परेको छ।वडा नम्बर १६ को बेहडाबाबा माध्यमिक विद्यालयको डिप बोरिङ धाराको पानीमा कोलिफमको मात्रा १० सिएफयू फेला परेको छ भने वडा नम्बर १४ को आधारभूत स्वास्थ्य केन्द्रको फिल्टरको पानीमा कोलिफमको मात्रा ४० सिएफयू फेला परेको छ। यस्तै, वडा नम्बर १९ को फूलबारी स्वास्थ्य चौकीको हाते पम्पको पानीमा पनि कोलिफमको मात्रा २० सिएफयू फेला परेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए।

फुटेको पाइप लाइन मर्मत नहुँदा धारामा कोलिफम

खानेपानी संस्थान र अन्य खानेपानी योजनाले वितरण गरेको पानी धारासम्म आइपुग्दा दूषित हुने गरेको छ। बेहडाबाबा खानेपानीको मुल टंकीको पानीमा कोलिफम फेला नपरेको भए पनि मन्दिरको धारामा भने कोलिफमको मात्रा पाँच सिएफयू फेला परेको छ। धाराको टुटी सफा नगर्दा, फुटेको पाइप मर्मत नगर्दा र पानी राख्ने भाडो सफा नहुँदा कोलिफमको मात्रा भेटिने गरेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए। खानेपानी संस्थानले फुटेको पाइप लाइन तत्काल मर्मत नगर्दा पनि खानेपानी दूषित हुने गरेको परीक्षणको क्रममा देखिएको छ।

खानेपानी संस्थानमै छैनन् क्लिरिनेसन गर्न जान्ने जनशक्ति

शुद्ध पानीका लागि नियमित क्लोरिनेसन गर्नुपर्ने हुन्छ। तर खानेपानी संस्थानमा भने नियमित क्लोरिनेसन गर्ने तालिम प्राप्त जनशक्ति नरहेको पाइएको छ। शुद्ध पानीका लागि खानेपानीको मुल टंकीमै नियमित क्लोरिनेसन गर्नुपर्ने भए पनि कर्मचारीहरूलाई सो सम्बन्धी तालिम नदिएको पाइएको छ।

नेपाल खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्रकुमार साहलाई यो विषयमा जिज्ञासा राख्दा क्लोरिन हाल्ने गरिएको भए पनि तालिम प्राप्त जनशक्ति छ या छैन भन्ने कुरा हेरेर मात्रै भन्न सकिने बताए। उनले क्लोरिनेसनको लागि आवश्यक काम गर्ने बताए।

नल र सेफ्टी टंकी सँगसँगै हुँदा पानी दूषित हुँदै

धनगढीमा अधिकांश परिवारले नल र सेफ्टी टंकको बिचको दूरी कायम गर्न नसकेको पाइएको छ। वडास्थित स्वास्थ्य चौकी र विद्यालयमा सेफ्टी टंकी र पानीको धाराबिचको दूरी कम हुँदा पानीमा कोलिफम भेटिएको उपमहानगरले जनाएको छ। खानेपानीको धारा तथा सेफ्टी टँकीबिचको दुरी कम्तीमा पचास फिट हुनुपर्छ मापदण्ड रहेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए। यस्तै, पानी भण्डार गर्ने भाडा वर्तन र फिल्टर नियमित सफा नगर्दा पनि पानीमा कोलिफम देखापर्ने सम्भावना बढी हुने बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार