धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेश संसदीय दलले मन्त्रीको नाम टुंग्याउने अधिकार दिन केन्द्रीय कमिटीसँग माग गरेको छ ।
मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रीको नाम टुंग्याउने विषयमा संसदीय दललाई अधिकार प्रत्योजन गर्न पाउनु पर्ने निर्णय गरेको हो ।
नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकार र मन्त्रीबारे निर्णय गर्ने अधिकार प्रत्योजन गर्न केन्द्रीय समितिसँग माग गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनकाअनुसार नाउपाको भागमा रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा कसलाई मन्त्रीका रूपमा पठाउने भन्ने निर्णय गर्न सुझाव समेत माग गरिएको छ ।
पार्टी केन्द्रले एक हप्ताभित्र अधिकार प्रत्योजन गरेर टुंगो नलगाएको अवस्थामा भने प्रदेश संसदीय दलले टुंगो लगाउने दल नेता चौधरीले बताए ।
नागरिक उन्मुक्ति पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका लक्ष्मणकिशोर चौधरी आर्थिक लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए ।
चौधरीले १६ चैतमा नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए ।
त्यसयता उक्त मन्त्रालय मन्त्रीविहीन रहेको छ । अहिले उक्त मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाह आफैंले सम्हालिरहेका छन् ।
प्रतिक्रिया दनुहोस्