धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जनताले चाहे बमोजिम सेवा गर्न प्रहरी सबैभन्दा पहिला ठिक हुनुपर्ने बताएका छन्।
कैलाली जिल्लाको नेतृत्व सम्हालेपछि मङ्गलवार पत्रकारहरू सँगको भेटघाटमा प्रहरी उपरीक्षक राणाले जनताले प्रहरीले प्रहरीकै काम गरोस् भन्ने चाहने बताए। प्रहरीहरूको आचरण सुधारका लागि लागेको उनले बताए। ‘पहिला हामी सुध्रिन्छौ। त्यसपछि बल्ल सेवा प्रभाव गर्ने भनेर अहिले हामी प्रहरीको आचरण सुधारमा लागेका छौ। राम्रो काम गर्नेलाई सजाय र नराम्रो गरेकालाई सजाय दिन कुनै कम्प्रमाइज गरिने छैन।’
उनले बाचा गर्ने भन्दा पनि काम गरेर देखाउने बताए। उनले भने ‘केही राम्रो काम गर्ने छु र तपाइहरूले मेरा राम्रा काममा सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ।’ उनले सुदूरपश्चिम प्रदेशको राजधानी र भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कैलालीमा गर्नुपर्ने धेरै काम रहेको बताए। ‘एक सय किलोमिटर बढी भारतसँगको सीमाना छ। यहाँ अधिकांश जिल्लाका मानिसहरूको बसोबास छ। सबै कारणबाट कैलालीमा धेरै काम गर्नुपर्ने मैले देखेको छु’ उनले भने।
सीमा क्षत्रेमा हुने तस्करी नियन्त्रणदेखि लागुऔषध नियन्त्रणसम्म प्रहरीको महत्त्वपूर्ण रहेको उनले बताएका छन्। उनले भने, ‘नागरिकको जिउ धनको रक्षा, अवैध क्रियाकलाप रोक्नुपर्ने दायित्व छ, यी दायित्व बोध हामीले गर्नेछौँ।’ नागरिकले राम्रो कामको अननुभूत गर्ने गरी काम गर्ने राणाले बताएका छन्।
प्रतिक्रिया दनुहोस्