काठमाडौँ : वैवाहिक विवादले उग्र रूप लिँदा दुई व्यक्तिको ज्यान गएको छ । खोटाङ र झापामा श्रीमतीबाट श्रीमान र श्रीमानबाट श्रीमतीको हत्या भएको हो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ मा ५१ वर्षीय पाँचकर्ण राईको हत्या उनकी श्रीमती ५३ वर्षीया रेनुका राईले गरेकी हुन् । सामान्य घरेलु विवादका क्रममा कोदालोको पासोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका राईलाई प्रहरी चौकी अर्खौलेको टोलीले उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौंस्थित न्युरो अस्पताल पुर्याएको थियो ।
तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनापछि अभियुक्त रेनुका राईलाई नियन्त्रणमा लिइएको छ भने घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
यस्तै, झापाको कनकाई नगरपालिका-२ सुकेडागीमा आपसी झगडाले हिंसात्मक रूप लिँदा पत्नीको ज्यान गएको छ । ३५ वर्षीय कविराज हेमरनले घरेलु विवादका क्रममा श्रीमती ३४ वर्षीया पूजा हेमरनको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले कविराजलाई नियन्त्रणमा लिएको छ ।
मृतक पूजाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दनुहोस्