झारो टार्ने बजार अनुगमन

अत्तरिया : वैशाख २६ गते मिश्रा आइस केन्डी उद्योगमा गोदावरी नगरपालिकाको अनुगमन टोली पुग्यो । अत्तरियामा रहेको उक्त उद्योगमा पुग्दा अनुगमनमा गएका जनप्रतिनिधि, कर्मचारी नै अचम्ममा परे । उक्त उद्योगमा एक वर्ष अघि अनुगमन गरिएको रहेछ । एक वर्ष अघि अनुगमन गर्दा उद्योग वडामा दर्ता गर्न, उद्योगमा सरसफाइ राख्न भनिएको रहेछ ।

तर, एक वर्ष पछि जाँदा पनि न उद्योग दर्ता भएको पाइयो । न उद्योगको अवस्थामा सुधार नै । उल्टै उद्योगमा ठुलो परिणाममा अखाद्य आइसक्रिम भेटियो । यस्तो अवस्था देखिदा अनुगमन टोलीले उद्योगका सञ्चालकलाई धम्क्याए । तर, १ वर्ष बितिसक्दा पनि आफैले दिएको निर्देशन कार्यान्वयन भए नभएको हेर्न नजाँदा समस्या झन् बढेको हो की भनेर आफैतिर तेर्सिने प्रश्नको भने जवाफ दिन कसैले वास्ता गरेनन् ।

Seti Hospital

यो त एक उदाहरण मात्रै हो । बजारमा अधिकांश पसल, उद्योगमा एक वर्ष अघिका त्रुटि दोहरिएको पाइएको भए पनि त्यसको दोष ती व्यापारी, सञ्चालकलाई थुपार्दै अनुगमन टोलीले यस पटक पनि अनुगमन सम्पन्न गरेको छ ।

कैलालीको गोदावरी नगरपालिकामा करिब एक वर्ष पछि वैशाख २६ गते देखि २८ गते सम्म बजार अनुगमन गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी सहितको टोलीद्वारा नगर भित्रका अत्तरिया, स्याउले लगायतका बजारमा अनुगमन गरिएको हो । गोदावरी नगरपालिकाकी उपप्रमुख नेतृत्वको अनुगमनमा निकै लामो समय पछि भएको बजारमा अनुगमन अखाद्य बस्तु, म्याद नाघेका, उत्पादन उपभोग्य मिति नै नहालेका, अखाद्य क्यामिकल प्रयोग गरेका सामान छ्यापछ्याप्ती भेटिएका छन् । तर, अनुगमन टोलीले भने पुरानै शैलीमा सम्झाउँदै बुझाउँदै केही सामान जफत गरेर उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्नेलाई उन्मुक्ति दिने काम यस पटक पनि दोहरिएको छ ।

नियमित अनुगमन नै नगर्ने, अनुगमन गरे पनि प्रक्रिया पुगाउने मात्रै झारो टार्ने प्रवृतिले उपभोक्ताको स्वास्थ्यमाथि भने गम्भीर खेलबाड हुँदै आएको छ । गोदावरी नगरपालिकाले बनाएको बजार अनुगमन निर्देशिका २०७५ मा मासिक रूपमा योजना बनाई अनुगमन गर्नुपर्ने उल्लेख छ । तर, उक्त निर्देशिका लत्त्याउँदै वर्षमा एक दुई पटक मात्रै अनुगमन हुँदै आएको छ । अनुगमन गरिएको समयमा छ्यापछ्याप्ती अखाद्य बस्तु भेटिदा पनि त्यसलाई नियन्त्रण गर्न नियमित अनुगमन गर्नुपर्नेमा कहिले समय नभएको, कहिले बजेट नभएको भन्दै अनुगमन गर्नबाट पन्छिने गरिएको छ ।

वैशाख २६ गते अनुगमनका क्रममा भेटिएकी गोदावरी नगरपालिकाकी उपप्रमुख तथा अनुगमन टोलीकी संयोजक शारदा देवी रोकायाले कामको व्यस्तताले नियमित अनुगमनमा ढिलाइ हुने गरेको बताइन् । सबै काम उपमेयरको जिम्मामा भएकाले अनुगमन गर्न नसकिएको उनको भनाई थियो । ‘सबै काम उपमेयरको जिम्मामा छ । संविधानले नै त्यही व्यवस्था गरेको छ’ उनले भनिन् ‘नगरप्रमुख ज्यु ले योजना बाँड्ने, आर्थिक कुरा वहसँग जोडिन्छ । उपप्रमुखको काम भनेको अनुगमन हुन्छ । योजनाको अनुगमन, बजार अनुगमन, सङ्घसंस्था सँग समन्वयन, न्यायिक समितिमा विवाद मिलाउने काम हुन्छ ।’

अत्तरिया बजार सुदूरपश्चिमका नौ जिल्लाकै संगम स्थल भएकाले नियमित उपभोक्ता भन्दा कहिले काही आउने जाने बढी हुन्छन् । चारैतिर राजमार्गले जोडिएको बजारमा अखाद्य बस्तुको बिक्री हुने जोखिम बढी भए पनि यहाँ अनुगमनमा भने बेवास्ता गरिँदै आएको छ । कहिलेकाहीँ हुने अनुगमन पनि झारो टार्ने गरी हुँदा अर्को पटक कहिले अनुगमन हुने टुङ्गो हुँदैन ।
यस पटक ३ दिनसम्म चलेको अनुगमनका क्रममा भने १ लाख ५२ हजार १६५ रुपैयाँ बराबरका अखाद्य वस्तुहरू बरामद गरिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका नायब प्राविधिक सहायक तोयनाथ ओझाले नगरपालिकाको आह्वानमा ३ दिन नगरभित्रका विभिन्न बजार अनुगमन गरिएको बताए । उनले बजार अनुगमनका क्रममा विभिन्न मात्रामा आईक्रिमजन्य, म्याद सकिएका मरमसलाजन्य, खाद्य तथा पेयपदार्थहरु जफत गरी नष्ट गरिएको बताए । ‘हामीले नगरपालिकाको आह्वानमा ३ दिन अत्तरिया तथा आसपासका बजार अनुगमन गरेका थियौँ’ उनले भने । नगरपालिकाले तिन दिनको अवधिमा नगरक्षेत्रभित्र रहेका किराना पसल, मिठाई पसल, फार्मेसी, दूध डेरी, होटल, मासु पसल, सैलुन लगायतका पसलहरूको अनुगमन गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार