विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानका मेयर हर्क साम्पाङ्गलाई आफूसँगै हिँड्न अनुरोध गरेका छन् । माओवादीको भातृ सङ्गठन किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले धरानका मेयर साम्पाङ्गलाई परिवर्तनका लागि माओवादीसँग सँगै हिँड्न आग्रह गरे ।
उनले भने, ‘मैले हर्क साम्पाङ्गलाई यस अघि नै लोकतन्त्रको सुन्दर फुल भनेको छु । यद्यपि उट्पट्याङ कुरा गर्नुहुन्छ । बेलाबेला नकारात्मक कुरा गर्नुहुन्छ । तपाईँले नकारात्मक कुरा गर्न जरुरी छैन । संविधानले दिएको अधिकार प्राप्तिका लागि हामीलाई साथ दिनुहोस् । भ्रष्टाचार अन्त्य गर्ने सुशासन कायम गर्ने र अधिकार प्राप्ति गर्न सडक सदनबाट लडौं । अब मेयर जीले त्यति धेरै नकारात्मक हुनु हुँदैन । हामी सँगै हिँड्न पर्छ । ’ उनले माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन सफल नहुने समेत बताए । उनले माओवादी कमजोर भए पहिचानको आन्दोलन पनि कमजोर हुने बताए । उनले भने, माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन बलियो हुन्छ भन्ने गल्ती नगरौँ ।’
उनले पहिचानको आन्दोलनका लागि माओवादीले गम्भीर आत्म समीक्षा गरेर आएको बताए । उनले आफू बालुवाटारमा भए पनि र खुमलटुरमा भए पनि पहिचानका लागि आन्दोलन गरिरहेकाहरूसँग वार्ता र संवाद गरी राखेको बताए । उनले भने, ‘हिजो सडकमा ३० दलीय मोर्चा हूदाँ होस या २२ दलीय मोर्चा हामी सँगै थियौ । मैले नै नेतृत्व गरेर पहिचानको आन्दोलन सफल भएको थियो ।’ अध्यक्ष प्रचण्डले पहिचानका लागि आफ्नो र माओवादीको नेतृत्वमा आन्दोलन गरिएको बताए । उनले भने, ‘पहिचानका लागि हिजो सँगै लडेको थियो । पहिचानका विषयमा हामी गम्भीर आत्मासमिक्षा सहित समाजवादको लक्ष्यका लागि आएका छौ । एक पटक फेरी माओवादीलाई स्वीकार गर्नुस् ।’
उनले संविधान संशोधन आवश्यक रहेको बताए । उनले मजदुर किसान र उत्पीडित समुदायको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताए । उनले भने, ‘मुलुकमा रहेको भ्रष्टाचारको मुहान थुन्न शासकीय संरचना फेर्न आवश्यक छ । अहिलेको चुनावी प्रणालीले देशमा भ्रष्टाचारको अन्तय हुन सक्दैन ।’ अध्यक्ष प्रचण्डले जनताद्धरा निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको बताए । उनले संविधान सभामा भिन्न मत राखेर आएकाले अहिलेको निर्वाचन प्रणालीलाई बदल्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको बताए ।
प्रतिक्रिया दनुहोस्