२५ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै : बैतडीका ज्योतिषी पन्त

धनगढी : बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषी पण्डित गणेशप्रसाद पन्तले २५ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै आएका छन्।

पन्तले वैदिक विधिबाट दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत एक सयभन्दा बढी धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउने अभियान थालेका हुन्। दलित बस्तीमा धार्मिक कुरीति हटाउन पन्तले अहिलेसम्म २७ वटा सप्ताह, १२ वटा शिवपुराण, ५५ वटा लघु रुद्राभिषेक, न्वारन, व्रतबन्ध, विवाह, सत्यनारायण पूजन, गृह शान्ति, शतचण्डीलगायतका एक सय २५ भन्दा बढी कर्मकाण्ड गरिसकेको बताए।

Seti Hospital

जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्व नाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका ज्योतिषी पण्डित पन्तले यसअघि सांस्कृतिक कुरीति हटाउन आचार्य कृष्ण दमाईँसहित एक सय ८ जना सिल्पि समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको बताए। आचार्य कृष्ण दमाईँले पशुपति कोटिहोमको व्यासबाट प्रवचनसमेत दिएका थिए। धर्मग्रन्थमा दलित, महिला कसैलाई पनि जातीय र लैङ्गिक हिसाबले विभेद नगरिएको बताउँदै ज्योतिषी पन्तले समाजमा कायम रहेको छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवा तयार हुनुपर्ने बताउदै आएका छन्। कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले हटाउनुपर्नेमा उनको जोड छ। उनले भने, ‘सुदूरपश्चिममा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारन, विवाह, व्रतबन्ध गर्दैनन्। त्यति मात्र होइन, चिहान घाटमा समेत जातीय विभेद हुने गरेकाले यस्ता कुरीति हटाउने अभियानमा म आफैँ लागेको हुँ। दलितको घरमा धार्मिक कार्य गर्दै भोजन ग्रहणसमेत गर्दै आइरहेको छु। दलिहरूमा समेत विभेद रहेको छ। त्यो मलाई मन पर्दैन, यो गलत हो। हटाउनुपर्छ। एक दलित समुदायले अर्काे समुदायले पानी–भान्सा नचल्ने गरेको मैले देखेको छु।’

सन्ध्या पूजा गर्दा अहिले पनि अथर्ववेदको उच्चारण गरेर यो दलितको वेद हो, भन्दै भुइँमा पानी खसाल्ने गलत परम्परा काम रहेको उनको भनाइ छ। अथर्ववेदकै ज्ञानले मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाज बनेको उनको दाबी छ। ‘हामी सबै त्यसको उपभोग गरिरहेका छौँ। तर, त्यही वस्तु निर्माण गर्ने शिल्पकारमाथि विभेद भइरहेका यस्ता कुरीति हटाउनुपर्ने पर्छ,’ उनले भने।

कुरीति हटाउन खोज्दा पाँच सय ७५ यजमान छुटे

ज्योतिष पण्डित गणेशप्रसाद पन्तका दलित बस्तीमा कर्मकाण्ड गर्न सुरु गरेपछि बुवा बाजेका पालादेखिका गैरदलित समुदायका पुर्ख्यौली पाँच सय ७५ यजमान छुटेका छन्। सांस्कृतिक कुरीति हटाउने अभियान सुरु गर्दा सामाजिक सञ्जालमार्फत आफूमाथि तुच्छ गालीगलौजसमेत हुँदै आएको पीडा उनको छ। दलितमाथि विभेद गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग उनको छ। पन्तले भने, ‘मलाई सामाजिक सञ्जालमार्फत तुच्छ गाली गरेपनि, म आफ्नो धर्म र कर्मबाट विचलित भएको छैन।’

प्रत्येक हिन्दुको घर–घरमा वेद, पुरान, शालिग्राम, तुलसीको मट, शङ्ख–घण्ट र पाञ्चायन देवताहरूको मट अनिर्वाह स्थापना गराउने उनको योजना छ। ‘धर्म शास्त्रकाे आधारमा महिला र पुरुष दुई मात्र जात हुन्छन, अन्य जात हुँदैन। मनुस्मृति आदी विभेद ग्रन्थहरू संशोधन हुनुपर्छ,’ उनले भने। सबै धार्मिक क्षेत्रहरूमा सबैका लागि समावेशी पूजा–पाठ हुनुपर्ने उनको माग छ। उनले धार्मिक कामका लागि ९८६०२७८१०० मा सम्पर्क गर्न भनेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार