धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी संसदीय दल बिच डडेल्धुरामा निर्णायक बैठक बस्ने भएको छ । लामो समयदेखिको विवाद समाधान गर्न आइतबार बिहान प्रचण्डको निजी निवास खुमलटारमा नेता खगराज भट्ट सहितका सांसदहरूले छलफल गरेका थिए ।
सो छलफल पश्चात अब जेठ १ गते डडेल्धुरामा बैठक बस्ने निर्णय भएको बैठकमा सहभागी सांसद शिवसिँह ओलीले जानकारी दिए । ‘संसदीय दलका नेतासहित अधिकांश सांसदहरू घर फर्किसकेका छन् । आजको छलफलमा चार जना सांसद मात्र थियौँ । विवाद समाधानका लागि अध्यक्षले जेठ १ गते डडेलधुरामा बोलाउनुभएको छ । बैठक सकारात्मक देखिन्छ’, ओलीले भने ।
छलफल सकारात्मक भएपनि संसदीय दलका नेता मानबहादुर धामी घर फर्किएकाले कुनै सहमति नभएको अर्का सांसद खगराज भट्टले जानकारी दिए । ‘संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष प्रचण्डसँग छलफल भइरहेको छ । यद्यपि कुनै सहमति भएको छैन । केही दिनमा समाधान निस्केला’, उनले भने ।
यसअघि पनि पटक पटक छलफल गरेपनि सहमति हुन नसकेको अवस्थामा प्रचण्डले वैशाख २४ गते दुवै पक्षलाई बोलाएका थिए । तर अन्तिम समयमा छलफल स्थगित भएपछि अधिकांश सांसदहरू घर फर्किसकेकोले कुनै सहमति नभएको बताईएको छ ।
प्रचण्ड निवासमा भट्ट, ओली, रमेशसिंह धामी र झपटबहादुर साउद सहभागी भएका थिए । प्रचण्ड मध्यपहाडी लोकमार्ग अन्तर्गतको अभियानमा भाग लिन जेठ १ गते डडेलधुरा जाँदै छन् । २०८० फागुनमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर दलको नेता बनेका थिए । दलको नेता भट्टलाई बनाउन पार्टीले चार पटक परिपत्र नै पठाएको थियो । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
प्रतिक्रिया दनुहोस्