महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै, किसानलाई सिँचाइ सुविधाको आशा

धनगढी : राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिएको छ।

२०६३/६४ देखि सुरु भएको यो आयोजनाले सुरुमा बजेट अभावका कारण गति लिन सकेको थिएन।

Seti Hospital

२०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि निर्माणले तीव्रता पाएको आयोजना प्रमुख योगेन्द्र मिश्रले बताए। उनका अनुसार हालसम्म २६ प्रतिशत काम सम्पन्न भएको छ। ‘बजेट अभाव, मुआब्जा वितरण र वनको समस्याले कामले गति लिन सकेको थिएन,’ उनले भने, ‘२०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि सरकारको प्राथमिकतामा प¥यो। त्यसपछि बजेट आउन थाल्यो।’

मिश्रका अनुसार टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्नुपर्नेमा २८ किलोमिटर सम्पन्न भएको छ। बाँकी २० किलोमिटर नहर निर्माण भइरहेको छ। ‘२८ किलोमिटर मूल नहरबाट सिँचाइका लागि २२ शाखा नहर निर्माण अन्तिम चरणमा छ,’ उनले भने, ‘यसै वर्षदेखि चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने तयारी छ।’

२०७७ माघको निर्णयअनुसार २०८७ सम्म कैलालीको मालाखेतीसम्म नहर निर्माण गर्ने लक्ष्य छ। १५१ किलोमिटर नहर निर्माण भएपछि कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । हालसम्म ९ अर्ब रुपैयाँ खर्च भएको र चालु वर्षमा २ अर्ब बजेट विनियोजन भएको मिश्रले बताए।

‘नहर निर्माणका लागि १० हजार रूख कटान गर्नुपर्छ। गत वर्ष मन्त्रीपरिषद्ले निर्णय गरिसकेको छ, हामीले विभागसँग सम्झौता गरेका छौँ,’ मिश्रले भने, ‘एक हप्ताभित्र रूख कटानको आदेश आउँदै छ।’

नेपालतर्फ पाँच हजार हेक्टरमा सिँचाइ संरचना तयार भए पनि भारतीय पक्षले मूल नहरमा पानी नछोड्दा समस्या भएको मिश्रले बताए। भारतीय पक्षले टनकपुरबाट पानी छोडे ब्रह्मदेव क्षेत्रका किसानले सिँचाइ सुविधा पाउने उनको भनाइ छ। आयोजनाले कञ्चनपुरको ९० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउनेछ। सिँचाइ अभावमा किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य छन्।

‘मैले सात बिघा जग्गा भाडामा लिएर उखु खेती गरेको छु। उखुमा धेरै पानी चाहिन्छ, यहाँ सिँचाइको समस्या छ,’ स्थानीय तेजबहादुर चन्दले भने, ‘दुईवटा सुगर मिल भए पनि बोरिङबाट सिँचाइ गर्दा लागत धेरै लाग्छ।’

बेदकोट–७ का विष्णु भट्टले सिँचाइ सुविधा उपलब्ध भए किसानलाई राहत पुग्ने बताए। ‘सिँचाइ नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्छ,’ उनले भने, ‘नहरमा पानी आए खर्च कम हुन्छ, सुविधा पनि पुग्छ।’

कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा एक लाख ६१ हजार ७४१ हेक्टर खेतीयोग्य जमिन छ। जसमध्ये ५९ हजार ६०२ हेक्टरमा खेती हुन्छ, तर २९ प्रतिशतमा मात्र सिँचाइ सुविधा छ। हाल महाकाली सिँचाइको पहिलो र दोस्रो चरणबाट ११,६०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ।

२०४२ मा सुरु भई २०४८ मा सम्पन्न पहिलो चरणले ४ हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न दोस्रो चरणले ६ हजार ८०० हेक्टरमा सिँचाइ सुविधा पु¥याएको छ । तर, सुक्खा याममा भारतले कम पानी छोड्दा बेलौरीसम्म पानी पुग्दैन, जसले किसानलाई समस्या भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार