काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यस वर्षको भन्दा गत वर्षको नीति–कार्यक्रम केही सकारात्मक रहेको बताएका छन्।
आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘कतिपय सैद्धान्तिक दृष्टिकोणले हेर्दा अघिल्लो चोटीको नीति तथा कार्यक्रममा केही प्रयास गरेको हो कि, केही कोशिस गरेको हो जस्तो देखिन्छ,’ उनले भने । तर, यस वर्ष गत वर्षको जस्तो प्रयास गरेको नीति तथा कार्यक्रम आउन नसकेको उनले टिप्पणी गरेका छन् ।
आफूले टिपेर ल्याएको उल्लेख गर्दै उनले भने, ‘गत वर्ष नेपाली जनताको सुःख र समृद्धिका लागि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा आशा र भरोसा जगाउने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार गरेको देखिएको थियो ।’ यस वर्षको नीति तथा कार्यक्रममा यस्तो नभनिएको उनले बताए । उनले भने, ‘गत वर्ष यो व्यवस्थाप्रति आशा जगाउन प्रयत्न गर्ने भन्ने थियो ।’
यस वर्ष फरक भाषा प्रयोग भएको र व्यवस्थाको रक्षार्थ लड्ने भनेर ल्याइएको उल्लखे गर्दै उनले यस्तो भाषाले सरकार कमजोर मनस्थितिमा रहेको देखाएको बताए।संविधानमा व्यवस्थाको सम्बन्धमा समेत प्रश्न उठाउन सकिने व्यवस्था रहेको उनको भनाइ थियो । यसकारण आफूहरूले उठाउँदै आएको एजेण्डा उठाउन संविधानले नरोक्ने उनले बताए । यसलाई बन्देज लगाउन नमिल्ने उनको आग्रह छ । कतिपयले संविधानले पूर्ण खारेजीको माग गरिरहँदा आफूहरूले संविधान खारेजी नभएर संविधानभित्रै रहेर आफ्ना एजेण्डा अगाडि बढाउने प्रतिवद्धता जनाउँदै आएको उनले बताए ।‘तपाईंको गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् न अघिल्लो सरकारले भने जस्तै,’ राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘अघिल्लो सरकारले आशा जगाउने काम गर्यो कि गरेन, तर प्रयत्न गर्छु भनेको थियो । अब पनि आशा जगाउने काम गर्नुस् ।’ आशा जगाउन जनतामा रहेको निराशा सरकारले चिर्न सक्ने उनको सुझाव छ ।
जनतामा आशा जगाउन फजुल खर्च कम गर्ने लगायतका उपाय हुन सक्ने उनको राय छ । फजुल खर्च गर्ने संरचनाहरू रहेको उल्लेख गर्दै उनले तिनलाई खारेज गरेर सरकार अगाडि जान सक्नुपर्ने बताए । अध्यक्ष लिङ्देनले धितोपत्र बोर्डले दलाली गरेर बसेको टिप्पणी गरेका छन् । उनले भने, ‘तपाईंहरु धितोपत्र बोर्डको शुद्धीकरण गर्ने भन्नु हुन्छ, धितोपत्र बोर्डले दलाली गरेर बसेको छ ।’
बोर्डले ७ प्रतिशतसम्म कमिसन मागेको भनेर सार्वजनिकरुपमै ऊर्जा उत्पादकहरुले भनिरहेको भन्दै उनीहरुलाई किन कारबाही नगरेको भनेर प्रश्न गरे । ‘जनताको लगानीमा २८ हजार मेगावट विद्युत उत्पादन गर्ने कुरा गर्नु हुन्छ, दुई वर्षदेखि शेयर निष्काशन नभएर ऊर्जा उत्पादकहरु रोएर बस्नु परेको छ,’ लिङ्देनले भने, ‘ऊर्जा उत्पादकहरुले सार्वजनिक रुपमा भनेका छन् ७ प्रतिशतसम्म कमिसन मागिएको छ, बिचौलियाहरु हाम्रो घरदैलोमा आइरहेका छन् भन्दा कारबाही हुनु पर्दैन ?’
कमिसन मागेको आरोप लागेपछि धितोपत्र बोर्डका मान्छेहरुले प्रमाण मागेको भन्दै उनले भने, ‘अनि अहिले धितोपत्र बोर्डवालाहरु, प्रमाण चाहियो, त्यस्तो प्रमाण कहाँ छ भनेर भनिरहेका छन् । कमिसन माग्न गएको प्रमाण हुन्छ ? दुई वर्षदेखि शेयर निष्काशन किन रोकेर राखियो ? त्यही हो प्रमाण । के प्रयोजनका लागि रोकेर राखेको हो ? त्यही हो प्रमाण ।’
प्रतिक्रिया दनुहोस्