काठमाडौं- भारत र पाकिस्तानबीच जारी तनावको कारण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आइपिएल २०२५ को सत्र अनिश्चितकालका लागि स्थगित गरेको छ।
बीसीसीआईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशको संवेदनशील सुरक्षा परिस्थितिमा खेल जारी राख्नु उचित नहुने ठहर गर्दै १८औं संस्करणको बाँकी खेलहरू स्थगित गर्ने निर्णय लिएको हो।
आइपीएल २०२५ अन्तिम चरणमा पुगेको थियो र कुल १६ खेल (फाइनलसहित) बाँकी थिए। फाइनल मे २५ तारिखमा कोलकातामा आयोजना हुने तय गरिएको थियो।
यसअघि बिहीबार राति आइपिएलका अध्यक्ष अरुण धूमलले ‘सिजन जारी रहने’ बताएका थिए, तर शुक्रबार आकस्मिक रूपमा बोर्डले निर्णय परिवर्तन गर्दै सम्पूर्ण सत्र अनिश्चितकालका लागि रोकिएको घोषणा गर्यो।
धर्मशालामा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीचको खेल प्रविधिगत समस्याका कारण रद्द गरिएको थियो, जुनपछि सिजनबारे अन्योलको स्थिति बनेको थियो।
बीसीसीआईका एक अधिकारीले पीटीआईसँग भने, “देश युद्धको अवस्थामा हुँदा क्रिकेट खेल्नु उपयुक्त देखिँदैन।”
यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि पाकिस्तान सुपर लिग (पीएसएल) युएई स्थानान्तरण गर्ने निर्णय गरिसकेको छ।
भारत–पाकिस्तानबीचको चर्किंदो तनावका बीच अब खेल क्षेत्रसमेत प्रभावित बनेको छ। बीसीसीआईले जनताको भावना र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय लिएको स्पष्ट पारेको छ।
प्रतिक्रिया दनुहोस्