काठमाडौँ : भारतीय अधिकारीहरूले पाकिस्तानले जम्मू कश्मीरको उधमपुर, कश्मीरका धेरै क्षेत्रहरू र पञ्जाबको पठानकोटमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्, जसलाई निष्क्रिय पारिएको छ।
भारतले लगाएका यी आरोपहरूलाई पाकिस्तानले अस्वीकार गरेको छ । बिहीबार राति अबेर, भारतीय सैन्य प्रवक्ताले एक विज्ञप्तिमा पाकिस्तानले १६ भारतीय रक्षा प्रतिष्ठानहरूमा रकेट र क्षेप्यास्त्रले आक्रमण गरेको दाबी गरे, जसलाई आधुनिक उपकरणको सहयोगमा निष्क्रिय पारिएको थियो ।
नियन्त्रण रेखा नजिकै पुंछ क्षेत्रमा गए राति पनि भारी गोलाबारी जारी रह्यो, जसमा एक जनाको मृत्यु भयो र एक महिला घाइते भइन् ।
स्थानीय पुँछका प्रहरी अधिकारीले बताएअनुसार गोलीबारीमा लोहल बेलाका नागरिक मुहम्मद अब्रारको मृत्यु भएको छ भने बेलियनकी शाहिदा अख्तर नामकी एक महिला घाइते भएकी छिन् र उनको मन्डी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
नियन्त्रण रेखा नजिकै पाकिस्तानले गरेको गोलाबारीबाट धेरै घरहरूमा क्षति पुगेको छ।
त्यस्तै बारामुल्ला, कुपवाडा र बन्दीपोरा जस्ता नियन्त्रण रेखा नजिकका क्षेत्रहरूमा अवस्था तनावपूर्ण छ । कुपवाडाका केही क्षेत्रहरूमा गोलाबारीका कारण केही भवनहरूमा क्षति पुगेको छ।
त्यस्तै उरीका स्वास्थ्य विभागका एक अधिकारीले गोलाबारीमा नर्गिस बेगम नामकी एक महिलाको मृत्यु भएको बताएका छन् ।
यो सम्पूर्ण परिस्थितिको समयमा, भारतीय सेनाले जम्मू कश्मीरमा रेड अलर्ट जारी गर्यो र नागरिक प्रशासनले ब्ल्याकआउटको घोषणा गर्यो, जसका कारण रातमा जम्मू कश्मीरका धेरै क्षेत्रमा बिजुली थिएन र मानिसहरू डराएका थिए ।
पुंछमा रातभरि भएको गोलाबारीपछि आज बिहान पनि भारी गोलाबारी भएको छ, तर अहिलेसम्म कुनै हताहतको समाचार छैन। जम्मू कश्मीरका सबै शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिएका छन् र परीक्षाहरू पनि स्थगित गरिएका छन्।
प्रतिक्रिया दनुहोस्