काठमाडौं : भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलामा त्यहाँको उग्रवादी समूह जैस ए मोहम्मदका कमान्डर मसूद अजहरको परिवारका १० जना सदस्य मारिएका छन् । साथै चार जना नजिकका सदस्य पनि मारिएका छन् ।
पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदार र सहयोगी मारिएका हुन् ।
यस सम्बन्धमा जैश–ए–मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा मृत्यु हुनेहरूमा मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी रहेको उल्लेख छ ।
सो संगठनले सन् २०१९ मा गरेको आत्मघाती बम विस्फोटमा ४० सैनिकको मृत्यु भएको थियो ।
बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बिचमा ‘अपरेसन सिन्दूर’ चलाएको बताएकी थिइन् । ‘यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी आक्रमणको सिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेसनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्णरूपमा ध्वस्त पारिएको थियो,’ उनले भनिन् ।
पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारण पाकिस्तानी मारिएको र ४६ जना घाइते भएको बताएको छ । भारतले नियन्त्रण रेखामा सीमापार गोलाबारी हुँदा १० जना भारतीय सर्वसाधारण मारिएको र ३२ जना घाइते भएको बताएको छ ।
प्रतिक्रिया दनुहोस्