धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मित्रराष्ट्र भारतको आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताएका छन्।
एक साताको भारत भ्रमण गरेर स्वदेश फर्किएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि भारतीय पक्ष सकारात्मक भएको आफूले पाएको बताएका हुन्। भारतको उत्तराखण्ड र उत्तर प्रदेशका मुख्यमन्त्रीसँग शिष्टाचार भेटवार्ताका क्रममा आफूहरू बीच प्रदेशको ऊर्जा, सडक पूर्वाधार, कृषि विकास, तथा लगानी सम्मेलनका बारेमा छलफल भएको बताए।
उनले भने, ‘सुदूरपश्चिम प्रदेशको सम्भावना र विकासका लागि भारतीय पक्ष सकारात्मक भएको पाएँ।’ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटमा सीमा क्षेत्रमा लागुऔषधलगायतका अपराधिक क्रियाकलाप नियन्त्रण एवं रोकथामबारे कुरा भएको मुख्यमन्त्री शाहले जानकारी दिए।
‘योगी आदित्यनाथ र आफूबीच केवल विकासका मात्र कुरा भए’, उनले भने, ‘संघीयतालाई बलियो बनाउन र सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा केन्द्रित रह्यौँ भ्रमणका क्रममा कुनै राजनीति विषयमा कुराकानी भएन।’ मुख्यमन्त्री शाले भ्रमणका क्रममा पलियाकलाँ–गौरीफन्टा सडक र तिकुनिया–खक्रौला सडक स्तरोन्नति तथा दार्चुला, बैतडी र डडेलधुरास्थित महाकाली नदीमा पुल निर्माण, टनकपुर ब्यारेजको आवागमन सहज बनाउन, र सुक्खा बन्दरगाहलगायतका विषयमा आफूले भारतीय समकक्षीसँग कुरा राख्दा उनीहरू सकारात्मक रहेको आफूले पाएको उनले जानकारी दिए।
‘नेपालबाट भारत जाने र भारतबाट नेपाल भित्रिने नागरिकको कैलाली र गड्डाचौकी भन्सार चेकप्वाइन्टमा अभिलेख राख्ने विषयमा उहाँहरू सहमत भए, उनले भने। एक प्रश्नको जवाफमा मुख्यमन्त्री शाहले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भएको भेटघाटपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण छिट्टै हुन लागेको संकेत आफूले पाएको बताए।
‘भ्रमणको निमन्त्रणाका लागि भारतीय सरकारलाई धन्यवाद दिन चाहन्छु र भ्रमणको लागि मार्गदर्शन गर्नुहुने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्दछु।’ यही वैशाख १६ गते भारत भ्रमणमा निस्केको मुख्यमन्त्री शाह नेतृत्वको टोली आज लखनऊबाट स्थलमार्ग हुँदै धनगढी (कैलाली) आइपुगेको हो।
प्रतिक्रिया दनुहोस्