धनगढी : कैलालीको धनगढीका ४२ किसानलाई बाख्रा वितरण गरिएको छ।
राष्ट्रपति उत्थान कार्यक्रम तथा धनगढी उप–महानगरपालिकाको सहकार्यमा बाख्रा वितरण गरिएको हो।
धनगढी उपमहानगरपालिका–१७ का २२ जना विपन्न नागरिकलाई दुई/दुईका दरले ४४ बाख्रा वितरण गरिएको उपमहानगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख अनिता बुढाऐरले बताइन। यता, उपमहानगरपालिका–१२ का २० जनालाई ४० वटा बाख्रा वितरण गरिएको छ।
विपन्न, मुक्त कमैया, कमलरी लगायत आर्थिक रूपमा पछाडी पारिएका समुदाय लक्षित कार्यक्रम बमोजिम बाख्रा वितरण गरिएको हो। वडा नम्बर १७ र १२ मा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले बाख्रा हस्तान्तरण गरेकी हुन्। रानाले बाख्राको संरक्षण गरेर दुईबाट ४ हुँदै ८ बनाएर व्यावसायिक बाख्रा पालनमा लाग्न किसानलाई सुझाव दिइन्। उपमहानगरपालिकाले दिएका बाख्राको संरक्षण गरेर व्यावसायिकता तर्फ लागे नलागेको अनुगमन समेत गरिने उनले बताएकी छन्। उपमहानगरपालिकाको लक्ष अनुसार काम गर्न बाख्रा पाएका नागरिकहरूलाई उनले आग्रह गरिन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष शेरबहादुर महराले बाख्राबाट विपन्न नागरिक निकै लाभान्वित बनेको बताए। केही नभएपनि दुई बाख्राबाट नागरिकहरूले वर्षै प्रत्येक दुई बाख्रा थप गर्न सक्ने भन्दै उनले मेहेनत गरेर बाख्रा पालन गरे केही वर्षमा राम्रै आम्दानी गर्न सकिने दावी गरे।
प्रतिक्रिया दनुहोस्