२० हजार घरधुरीमा बिजुली

दार्चुला : दार्चुलामा धमाधम ग्रामीण विद्युतीकरण भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत जिल्लाका सबै स्थानीय तहमा विद्युतीकरणको काम गरिरहेको हो।

दार्चुलामा विद्युत्को मेन लाइन र शाखा लाइनको काम धमाधम भइरहेको विद्युत् प्रोजेक्टका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर मनोज बस्नेतले बताए। प्रोजेक्टले जिम्मा पाएको १२३ लोडसेन्टरमध्ये ८० वटा लोडसेन्टरमा ट्रान्सफर्मर चढाइसकिएको छ। बाँकीमा समेत असार मसान्तसम्म ट्रान्सफर्मर चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

Seti Hospital

यसअघि विद्युत् प्राधिकरणले दार्चुलामा दुई सयभन्दा बढी ट्रान्सफर्मरमार्फत विद्युत् वितरण गरेको छ। मार्माको वडा नम्बर १ र अपिहिमालको दुर्गम गाउँमा भौगोलिक विकटताका कारण काम गर्न केही ढिलाइ तथा कठिनाइ भइरहेको उनले बताए। लेकमको विकट क्षेत्र रतौडामा केही दिनपहिले ट्रान्सफर्मर राखिएको छ। महाकाली, लेकम, मालिकार्जुन, दुहुँ, शैल्यशिखरलगायत अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ। व्यास, मार्मा, नौगाड, अपिहिमालमा पनि काम भइरहेको छ, उनले भने, ‘जिल्लाभरि विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ। सबैतिर काम भइरहेकाले विद्युत् लाइनका तार र पोल अभाव भइरहेको छ।’

दार्चुलामा हालसम्म ७० प्रतिशत घरधुरीमा बिजुली बलिसकेको छ। करिब २८ हजार घरपरिवार बसोबास रहेको यस जिल्लामा २० हजार घरधुरीमा विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटाले बताए। ‘करिब २० हजार घरमा बिजुली पुगिसकेको छ,’ उनले भने, ‘केही महिनापहिलेसम्म एकदेखि दुई सय मिटर मात्रै बिक्री भइरहेकोमा अहिले मासिक चारदेखि पाँच सय मिटरको माग आइरहेको छ। मासिक मिटर बिक्रीवितरणको तथ्याङ्क हेर्दा पनि पछिल्लो समय विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको देखिन्छ।’

दार्चुलामा अहिलेसम्म शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलभिसा गरेर तीन वटा सबस्टेसनमार्फत विद्युत् वितरण गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार