काठमाडौं : लगातारको वर्षाले देशका दुई प्रमुख सडकखण्ड पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडक र हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएका छन् । यसले लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरूलाई सास्ती भएको छ ।
पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सडक विस्तार कार्य भइरहेकै बेला आएको निरन्तरको वर्षाका कारण सडक चिप्लिएर सवारीसाधन चल्न नसक्ने अवस्था उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिए । उनका अनुसार, गएरातिदेखि परेको लगातारको वर्षाले सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि सवारीसाधनको लामो लाइन लागेको छ ।
नेपालले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध समेत गरेका छन् । उक्त खण्डमा दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरिँदै आइएकोमा, अहिले आकस्मिक रूपमा थप अवरोध भएपछि यात्रुहरू झनै समस्यामा परेका छन् ।
यसैबीच, हेटौँडाबाट काठमाडौं जाने वैकल्पिक मार्गको रूपमा रहेको कान्ति लोकपथ पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा पर्ने बागमती खोला डाइभर्सन बगाएपछि सडक सम्पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, अविरल वर्षाका कारण आज बिहान ६ बजेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । प्रहरीको टोली घटनास्थलमा खटिएको छ र सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिइएको छ । प्रहरीले यात्रुहरूलाई हेटौँडाबाट काठमाडौं जानका लागि अन्य वैकल्पिक मार्गहरू प्रयोग गर्न सुझाव दिएको छ ।
प्रतिक्रिया दनुहोस्