धनगढी : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिमले पार्टीले सञ्चालन गरेकाे तराई-मधेश जागरण अभियानमार्फत जनतामा प्रत्यक्ष विचार सम्प्रेषण गर्न सफल भएको जनाएको छ ।
शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले १२ फागुनमा झापाकाे कचनकेवलबाट सुरू भएर कञ्चनपुरकाे महेन्द्रनगरमा १७ बैशाखमा सम्पन्न भएकाे अभियान उपलब्धिमुलक भएका उल्लेख गरेकाे छ ।
‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’ सुदूरपश्चिम प्रदेशमा जनसहभागिता, कार्यकर्ता सशक्तिकरण र वैचारिक विस्तारका उल्लेखनीय उपलब्धिहरू प्राप्त भएकाे प्रदेश इन्चार्ज गिरीराजमणी पाेखरेलले सार्वजनिक गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।
झापाको सुरु भएको अभियानले करिब दुई महिना लामो यात्रापछि बैशाख १५ गते सत्तीघाटस्थित कर्णाली पुलमा लुम्बिनी प्रदेश इञ्चार्ज चन्द्र खनाल ‘बलदेव’ बाट सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेललाई अभियानको झण्डा हस्तान्तरण गर्दै प्रदेश प्रवेश गरेको थियो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरूको सहभागितामा सुदूरपश्चिम प्रवेश गरेको अभियानको समापन बैशाख १७ गते भिमदत्तनगरस्थित स्मारक चोकमा सम्पन्न भएकाे थियाे ।
पाेखरेलले जारी गरेकाे वक्तव्यमा अभियानले जनसंगठन, वैचारिक संप्रेषण र जनसमस्या पहिचानमा महत्वपूर्ण सफलता हासिल गरेको, २० हजारभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष सम्पर्क गर्दै पार्टीको शीर्ष नेतृत्वले विचार सम्प्रेषण गर्न सफल भएको, जनताकै बीचको बसाइ, स्थानीय खानपान र लोकसंस्कृतिको अवलोकन साथै शहीद तथा वेपत्ता परिवारसँगको अन्तरक्रियाले कार्यकर्तामा अभूतपूर्व उर्जा, शिक्षा र जिम्मेवारीबोध जागृत गरेको उल्लेख गरिएको छ ।
यस्तै विभिन्न पालिका, वडामा पुगेर जनसमस्या अवलोकन ज्ञापनपत्र ग्रहण सामूहिक संवाद प्रबुद्ध व्यक्तित्वहरूसँग अन्तरक्रिया जस्ता कार्यक्रमले समाजवादको दिशा र सुशासनप्रतिको प्रतिबद्धता थप सुदृढ भएको, दलाल, दिशाहीन र प्रतिगामी प्रवृत्तिको भण्डाफोर र वर्तमान संविधान तथा व्यवस्थाप्रतिको जनसमर्थन बटुल्ने काम अभियानले गरेको कुरा पनि उल्लेख छ ।
विगतमा गरिएको विकास कार्यको समीक्षा र भविष्यका योजना सार्वजनिक गरेर जनमत आकर्षण गर्ने प्रयास पनि अभियानकै हिस्सा बनेकाे दाबी गरिएको छ ।
अभियानले कैलाली र कञ्चनपुरका ६ प्रतिनिधिसभा, ९ प्रदेशसभा निर्वाचन क्षेत्र, ९ पालिका र ४७ वडामा सघन उपस्थिति, सामाजिक समावेशीकरण, सिमान्तकृत समुदायसँग संवाद तथा बालबालिकाको अविभावकत्व ग्रहणजस्ता क्रियाकलापमार्फत पार्टीले आफ्नो जनपक्षीय र संवेदनशील छवि बलियो बनाएको पनि उल्लेख छ ।
प्रतिक्रिया दनुहोस्