सुदूरपश्चिम रास्वपा सभापति विष्टलाई बर्खास्त गर्न माग

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई बर्खास्त गर्न माग गरिएको छ । प्रदेशका ९ वटै जिल्ला सभापतिहरूले संयुक्त रूपमा सुदूरपश्चिम इन्चार्ज हरि ढकाललाई ध्यानाकर्षणपत्र बुझाउँदै सभापति विष्टलाई कारबाही गर्न माग गरेका हुन् ।ढकाललाई बुझाइएका दुईवटा छुट्टाछुट्टै पत्रमा उनीहरूले प्रदेश सभापति विष्टको भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरूले भने राइट टु रिकलको व्यवस्थाअनुसार विष्टलाई कारबाही गरी सुदूरपश्चिम संगठनको संरक्षण गरिदिन भनेका छन् ।

जिल्ला सभापतिहरूले प्रदेश सभापतिमाथि प्रश्न उठाउँदै १६ वैशाखमा प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रदेश इन्चार्ज ढकाल प्रदेश समितिको बैठकमा सहभागी हुन धनगढी आएका बेला ध्यानाकर्षणपत्र बुझाएको स्रोतले जनाएको छ । जिल्ला सभापतिले बुझाएको ११ बुँदे ध्यानाकर्षणपत्रमा सभापति विष्टले आन्तरिक छलफलबिना एकलौटी निर्णय गर्दै प्रदेश पदाधिकारी हटाउने र नियुक्त गर्ने जस्ता आरोप लगाइएको छ ।

Seti Hospital

उनीहरूले बिनाअजेन्डा बैठक सञ्चालन गर्ने, केन्द्रमा झुटो रिपोर्टिङ गर्ने, संगठन निर्माण अभियानहरूमा अवरोध सिर्जना गर्ने, प्रदेश समितिको बैठकमा नक्कली हस्ताक्षर संकलन गर्ने, आफ्ना निकटस्थहरूलाई जिल्ला तहसम्म समन्वयबिना पदमा मनोनयन गर्ने र आलोचना गर्नेहरूलाई गुटबन्दीको आरोप लगाउने जस्ता कार्य गर्दै आएको उल्लेख गरेका छन् ।

विष्टमाथि तानाशाही प्रवृत्ति देखाउँदै गुटबन्दी प्रवर्द्धन गर्ने र विधानविपरीत नियुक्ति तथा संगठनलाई विभाजन गर्न लागेको आरोप समेत लगाइएको छ । दोस्रो पत्रमा भने सभापतिमाथि कारबाहीको प्रक्रिया अघि बढाउन माग गरिएको छ । प्रदेश सभापति विष्टमाथि प्रश्न उठेपछि अहिले रास्वपा सुदूरपश्चिम भित्रको विवाद सतहमा आएको छ । नेता तथा कार्यकर्ता विभाजित भएका छन् ।

रास्वपाका प्रदेश सभापति विष्टले भने आफूमाथि कारबाही गर्नुपर्छ भनेर ध्यानाकर्षणपत्र बुझाइएको थाहा पाएको र पार्टीको आन्तरिक विषय भएकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए । तर पार्टीको आन्तरिक विषयलाई सामाजिक सञ्जालमार्फत छताछुल्ल गरेर प्रचार गर्नेहरूमाथि अनुसन्धान हुनुपर्ने उनको माग छ ।

‘म फाटेको चप्पलको बलमा कसैलाई ढुंगा हानेर राजनीति गर्न आएको मान्छे होइन । विदेशमा मासिक लाखौँ तलब भएको जागिर छाडेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर फर्किएर व्यवसाय गरिरहेको मान्छे हुँ,’ विष्टले भने, ‘मैले देश राम्रो बनाउनुपर्छ भनेर रास्वपाको राजनीति रोजेको हुँ । सानातिना कुराले मलाई खासै फरक पार्दैन ।’

स्वयं हस्ताक्षरकर्ता नेताहरूले समेत पार्टी सभापतिलाई कारबाहीका लागि नभएर सभापतिको कार्यशैलीप्रती प्रश्न उठाउँदै सुधार गर्न माग मात्रै गरिएको तर त्यसलाई तोडमोड गर्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

‘पार्टी सभापतिलाई कारबाही गर्नुपर्छ, हटाउनुपर्छ भनेर हामीले हस्ताक्षर गरेका होइनौँ । केही जिल्लामा समन्वयको अभाव भयो भन्ने कुरा मात्रै उठाएका थियौँ,’ अछाम सभापति ओमप्रकाश रावलले भने, ‘तर अहिले हाम्रो हस्ताक्षर गलत आसयका साथ प्रयोग गरिएको छ । ध्यानाकर्षण पत्रको दुरुपयोग भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

रास्वपा कैलाली सभापतिले समेत हस्ताक्षरको गलत रूपले प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको बताउँदै चाँडै विज्ञप्तिमार्फत आफ्नो कुरा स्पष्ट गर्ने तयारीमा रहेको जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार