काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आर्थिक वर्ष २०८२-०८३ को बजेट तथा कार्यक्रममा वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारिएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको कार्बन उत्सर्जन लगायतका विषय समेटिएको दुई वर्षे पारदर्शिता प्रतिवेदन अन्तिम चरणमा पुगेको बताए ।
आर्थिक वर्ष २०८२-०८३ को बजेट तथा कार्यक्रममा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारेको बताए ।
मन्त्री ठकुरीले नेपालले सञ्चित गरेको कार्बनलाई अन्तर्राष्ट्रिय स्थानीय समुदायमा विक्री गरी आर्थिक लाभ उठाउने उद्देश्यका साथ कार्बन नियमावली २०८२ को अन्तिम मस्यौदा तयार गरिरहेको बताए ।
उनले यही मे महिनाको १६ देखि १८ सम्म नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादलाई विशेष गरी जलवायु परिवर्तन पर्वत र मानव भविष्यसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमै यसको असरको बारेमा विश्व समुदायलाई जानकारी गराउनका लागि यो महत्त्वपूर्ण कार्यक्रम हुने विश्वास व्यक्त गरे । उनले सगरमाथा संवादलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि नेपाल सरकारले आफ्नो तयारीहरू अघि बढाइरहेको बताए । केही दिनभित्र सम्पूर्ण तयारी पूरा गरेर राष्ट्रिय महत्वको पर्वको रूपमा मनाउन गइरहेको बताए ।
मन्त्री ठकुरीले जलवायु परिवर्तनको प्रभाव दिन प्रतिदिन झनै भयावह बन्दै गएको बताए । नेपाल जलवायु परिवर्तनको प्रमुख कारक नभए पनि त्यसको पीडा भोग्नु परिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दनुहोस्