काठमाडौं : भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्रा मृत फेला परेकी छन् । वीरगन्ज निवासी प्रिसा साहको शव बिहीबार साँझ विश्वविद्यालयको होस्टेलमा फेला परेको हो ।
ओडिसाको मौलिक तथा जनसम्पर्क विभागद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रहरीलाई घटनाबारे राति ८ः१० बजे जानकारी प्राप्त भएको र त्यसलगत्तै प्रहरी आयुक्त, राजस्व डिभिजनल कमिश्नरसहित उच्च अधिकारीहरूको टोली घटनास्थलमा पुगेर सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाएको उल्लेख गरिएको छ ।
प्रिसा केआईआईटी विश्वविद्यालयमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिइन् । विश्वविद्यालयको होस्टेलमा परीक्षा दिने उद्देश्यले बस्दै आएकी उनीको मृत्युको कारणबारे हाल अनुसन्धान जारी रहेको बताइएको छ ।

उक्त विश्वविद्यालयमै यसअघि पनि यस्तै दुःखद घटना घटिसकेको छ । गत ४ फागुनमा नेपाली विद्यार्थी प्रकृति लम्साल पनि सोही होस्टेलमा मृत अवस्थामा फेला परेकी थिइन् । छोटो अन्तरालमै दुई नेपाली छात्राहरूको रहस्यमय मृत्युले ओडिसास्थित नेपाली विद्यार्थी समुदायमा गहिरो शोक र चिन्ता उत्पन्न भएको छ ।
प्रतिक्रिया दनुहोस्