बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण

महोत्तरी : जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ ।

एक कार्यक्रम आयोजना गरी नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, नापी कार्यालयका प्रमुख रामविनय सिंह र सम्बन्धित वडाका वडाध्यक्ष श्यामराजा सिंह र काहारमान स्याङ्वाले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन् । बर्दिबास–५ का ६८ र बर्दिबास–२ का २४ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

Seti Hospital

बर्दिबास–२ बँदेलखाडीकी ८० वर्षीया भीममाया आले दङ्ग छिन् । आफ्नै घर भएको जग्गाको जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाउँदा खुसी लागेको उनले बताइन् । ‘यही जग्गाको कागज पाऊ भनेर दौडादौड गर्दागर्दै श्रीमान्को निधन भयो । आज मैले पाएँ’, आलेले भनिन्, ‘अबचाहिँ घर आफ्नै जग्गामा भएको निस्सा भयो ।’ श्रीमान् कबिरमान आलेले ६० वर्षअघि बनाएको घरको जग्गा लालपुर्जा पाउँदा उनको सङ्घर्षको प्रतिफल पाएको अनुभूति भइरहेको उनको भनाइ छ ।

बर्दिबास–५ ढुङ्गेकी ७० वर्षीया बुद्धिमाया आले पनि घरबासको जग्गाको लालपुर्जा पाउँदा खुसी छन् । स्वर्गीय श्रीमान् खड्कबहादुर आलेको मेहनत अहिले ५० वर्षपछि साकार भएको बुद्धिमायाले बताइन् । जग्गाधनी प्रमाण पुर्जा पाउने ९२ जनामध्ये ८० भन्दामाथि मगर समुदायका छन् ।

घरजग्गाको लालपुर्जा पाएसँगै आफूपनि जग्गाधनी भएको बर्दिबास–५ का ७५ वर्षीय बुद्धबहादुर थापा मगरले बताए । हातखुट्टा पक्ष घातले सुकाएर हिड्डुलमा समस्या भोग्दै आएका उनले लालपुर्जा पाउँदा सबै शारीरिक कष्ट बिर्सेको प्रतिक्रिया दिए ।

आफू शारीरिक रूपमा अशक्त भए पनि घरजग्गाको लालपुर्जा पाउँदा खुसीले नाच्न मन लागेको उनको भनाइ छ । आफ्नो भनेर निस्सा देखाउने जग्गा कतै नभएका बेला थोरै भए पनि स्वामित्व दिँदा हर्षित भएको मगरले बताए ।

जिल्ला नापी कार्यालयले बर्दिबास–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको नगरप्रमुख क्षत्रीले उल्लेख गरे । पाँच दशक पहिलेदेखि भोगचलन गर्दै आएका घरवासीको जग्गा नाप जाँच गरी जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ ।

‘हामीले सम्बन्धित वडाध्यक्षको रोहबरमा जग्गा नाप जाँच गरी प्रमाण पुर्जा बनाएका हौँ’, नापी कार्यालय प्रमुख सिंहले भने, ‘जिल्लाभरि गाउँका घरबासी जग्गाका जग्गाधनी प्रमाण पुर्जा क्रमशः वितरण गर्दै आइएका छौँ, यो क्रम जारी रहन्छ ।’ उनका अनुसार ती वितरण भएका जग्गाधनी प्रमाण पुर्जा सबै घरबास जग्गा हुन् ।

जिल्लाका सबै स्थानीय तहका वडा तथा बस्तीमा क्रमशः बसोबासका आधार र जग्गा भोगचलनका आधारमा घरजग्गाको नाप जाँच गरी जग्गाधनी प्रमाण पुर्जा वितरण गरिरहेको प्रमुख सिंहले जानकारी दिए । उनका अनुसार वितरण गरिएका प्रमाण पुर्जा तीन धुरदेखि १० धुर क्षेत्रफलसम्मका रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार