धनगढी : कैलालीको गेटा अस्पतालले आपूर्तिकर्तासँगको मिलेमतोमा उपकरण खरिदका ठेक्का आह्वान गरेको पाइएको छ । बीर अस्पतालबाट गत १४ चैतमा गेटा अस्पतालको निर्देशकका रुपमा आएका डाक्टर प्रदीपकुमार यादवले आपूर्तिकर्तासँगको मिलेमतोमा उपकरण खरिदका लागि ठेक्का प्रक्रिया अघि बढाएको पाइएको छ ।
कतिसम्म भने अस्पतालको निर्देशक भएर आएको भोलिपल्टै आफूअनुकुल हुनेगरि खरिद समिति परिवर्तन गर्दै अनियमितता गर्ने उद्देश्यले एकपछि अर्को उपकरण खरिद प्रक्रिया तीव्र रुपमा अघि बढाएको देखिएको छ ।
अस्पतालका शाखा अधिकृत खगेन्द्र भारतीको संयोजकत्वमा रहेको पाँच सदस्यीय खरिद समितिलाई भंग गर्दै डाक्टर जगदीश विष्ट संयोजक रहनेगरि तीन सदस्यीय नयाँ समिति बनाएका छन् । उक्त समितिमा डाक्टर शंकर अधिकारी र शाखा अधिकृत सिद्धराज भट्टलाई सदस्य राखिएको छ ।
आफू अनुकुल हुनेगरि खरिद समिति बनाएका यादवले १५ चैतदेखिको ३१ चैतभित्र यादवले चार वटा प्याकेज बनाएर विभिन्न १७ वटा उपकरण खरिदका लागि बोलपत्र आह्वान गरेका छन् । राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गरिएका अधिकांश बोलपत्रमा सार्वजनिक खरिद ऐन र भ्रष्टाचार निवारण ऐन विपरीतका प्रावधान राखेको पाइएको छ ।
अनियमितता गर्न आपूर्तिकर्ता अनुकुल हुनेगरि स्पेसिफिकेशन
स्पेशिफिकेशन नै आपूर्तिकर्तालाई अनुुकुल हुनेगरि बनाएर २८ करोड बढिका उपकरण खरिदमा ठूलो अनियमितता गर्ने उद्देश्य राखिएको देखिन्छ । बोलपत्र नम्बर जीएच-जी-एनसीबी–१० मा मेडिकल ग्यास पाइपलाइन सिस्टमको माग गरिएको छ । यो बोलपत्रमा जिसीई मेडिकल कम्पनीलाई ठेक्का पर्नेगरि एमसी–८० डुब्लेक्स मोडल नै तोकिएको छ ।
यति मात्र होइन, पाठेघरको क्यान्सरको जाँच गर्ने उपकर खरिदको स्पेशिफिकेशनमा न्यूूमार्स कम्पनीको लु–मोडलसँग मिल्ने बुुँदा राखिएको छ भने घाँटीको ¥याल निकाल्न प्रयोग गरिने अटोमेटिक ट्राचेल सेक्रेशन रिमोभल डिभाइस उपकरण खरिदको एम केयर नामक कम्पनीले ठेक्का पाउनेगरि बोलपत्र प्रकाशित गरिएको छ । आईसीयू कक्षमा प्रयोग गरिने ब्लड ग्यास अनालाइजर उपकरणको स्पेसिफिकेशन ड्रागन कम्पनीको आई–२० मोडलसँग मिल्नेगरि बनाइएको छ ।
अमुुख आपूर्तिकर्तालाई ठेक्का पर्नेगरि स्पेशिफिकेशन बनाएर बोलपत्र आह्वान गरिएका यी प्रतिनिधिमुुलक उदाहरण भएपनि १७ वटै उपकरणमा कुनै न कुनै एउटा मात्र कम्पनीलाई पर्ने खालका प्रावधान राखिएको छ । गेटा अस्पतालका निर्देशक डाक्टर प्रदीपकुमार यादवले आपूर्तिकर्तासँगको मिलेमतोमा ठेक्का प्रक्रिया अगाडि बढाउँदा आफ्नै कर्मचारीलाई समेत बाइपास गरेको पाइएको छ ।
बायोमेडिकल इन्जिनियरलाई बाइपास, अन्य कर्मचारी पनि बेखबर
अनियमितता गर्ने उद्देश्यले नै निर्देशक यादवले परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौँबाट बायोमेडिकल इन्जिनियर अमृत प्रसाद भण्डारीलाई काजमा ल्याएर उपकरण खरिदको स्पेसिफिकेशन बनाएका छन् । जबकी गेटा अस्पतालमा बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौत पहिल्यैदेखि कार्यरत रहेका छन् ।
यसअघि हुने उपकरण खरिदमा चटौतले नै स्पेशिफिकेशन बनाउदै आएका थिए । अस्पतालमा कार्यरत बायोमेडिकल इन्जिनियर चटौतलाई बाइपास गर्दै डाक्टर यादव आफैले प्रसुती गृह थापाथलीलाई २६ चैतमा पत्र लेख्दै प्राविधिक खटाएर सहयोग गरिदिन भनेका थिए ।
यादवको पत्रअनुसार परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले भण्डारीलाई २७ चैतमा गेटा अस्पतालमा प्राविधिक सहयोगका लागि पठाएको देखिन्छ ।
भण्डारीलाई काजमा खटाइएको तेस्रो दिनमै उनैले बनाएको स्पेसिफिकेशनका आधारमा ३१ चैतमा पाँच वटा र पाचौँ दिनमा २ बैशाखमा थप ८ वटा टेन्डरका सूचना राष्ट्रिय पत्रिकामा प्रकाशित गरिएका छन् ।
स्पेसिफिकेशन बनाउन निकै समय लाग्ने भएपनि गेटामा भने बायोमेडिकल इन्जिनियर काजमा खटाइएको तेस्रो दिनमै उपकरण खरिदको सूचना जारी गरेको पाइएको छ । भण्डारीलाई काजमा ल्याउनुु पूर्व नै स्पेसिफिकेशन तयारी अवस्थामा राखेर बाँकी प्रक्रिया त्यसपछि मात्र थालिएको हुुनसक्ने आशंका गरिएको छ ।
बायो मेडिकल इन्जिनियर चटौत मात्र होइन प्रशासन शाखा, लेखा शाखाका अन्य कर्मचारीहरुले समेत अहिले भइरहेको खरिद प्रक्रियाबारे अनभिज्ञता जनाएका छन् । ‘उहाँ निर्देशक भएर आएपछि दुई÷तीन जना डाक्टर र कर्मचारीलाई हातमा लिएर अरुमाथि ज्यादती चलाइरहनुुभएको छ,’ अस्पतालमा कार्यरत एक कर्मचारीले भने, ‘अहिले भइरहेको उपकरण खरिद प्रक्रियाका बारेमा हामीलाई कुनै पनि जानकारी छैन । उहाँले मिलेमतोमा ठेक्का आह्वान गरेको हल्ला हामीले पनि सुनेका छौँ ।’
खरिद योजना नै संशोधन
अर्कोतिर यसअघि अस्पतालको निर्देशक रहेका डाक्टर अशोक श्रीपाईलीले बनाएको वार्षिक खरिद योजना समेत यादव आएपछि संशोधन गरिएको छ । राष्ट्रिय स्तरको खरिद प्रक्रियालाई संशोधन गरि अन्तराष्ट्रिय स्तरको बनाएका छन् । ‘आर्थिक अनियमितता गर्ने उद्देश्य राखेर अन्तराष्ट्रिय कम्पनीबाट उपकरण आपूर्ति गर्न उहाँले खरिद योजना नै संशोधन गर्नुभएको देखिन्छ,’ एक कर्मचारीले भने, ‘त्यहीअनुसार स्पेसिफिकेशन बन्नुुले पनि यो कुुरा पुष्टि गर्छ ।’
गेटा मेडिकल कलेज सञ्चालनका लागि बनाइएका संरचनामा चलाइएको गेटा अस्पताल ५० शैयामा चलिरहेको छ । यहाँ आकस्मिक सेवा समेत सुचारु भएको छैन । तर, आर्थिक अनियमितता गर्न करोडौँका उपकरण खरिद भइरहेका छन् । त्यसरी खरिद हुने उपकरण थन्क्याउनुको विकल्प छैन ।
आरोप झुठा भएको दाबी
तर, गेटा अस्पतालका निर्देशक डाक्टर प्रदीपकुमार यादवले भने उपकरण खरिद प्रक्रियामा कुनै खालको मिलेमतो र बदमासी नभएको दाबी गरेका छन् । आफूमाथि लागेका सबै आरोप झुठा भएको उनी बताउँछन् । खरिद समिति तत्कालीन निर्देशकको अधिनमा भएका कारण फेरेको बताउने यादवले उपकरण खरिद प्रक्रियामा त्रुटी भएको कुरा लिखित रुपमा आएमा संशोधन गर्न सकिने समेत बताए ।
‘तपाईले बाहिर सुनेका कुरा गलत हुन् । कुनै सत्यता छैन । तर कमजोरी भएको कुरा लिखित रुपमा आएमा संशोधन गर्न सकिछ,’ यादवले भने, ‘अस्पतालको वार्षिक कार्य योजनाअनुसार नै उपकरण खरिद प्रक्रिया थालिएको हो । कुनै कमजोरी भएको छैन ।’ उनले गेटा अस्पतालमा कार्यरत कर्मचारीले काम नगरेपछि कानुन सम्मत रुपमै खरिद समिति परिवर्तन गरेको र बायोमेडिकल इन्जिनियर समेत काजमा ल्याएको दाबी गरेका छन् ।
‘खरिद समिति त्यो बेलाका हाकिमको अधिनमा थियो त्यसैले मैले कानुनले दिएको अधिकार प्रयोग गरेर फेरेको हुँ । बायोमेडिकल इन्जिनियर भएपनि काम गर्न नमानेपछि के गर्ने त ?’ यादवले भने, ‘काम रोक्नु भएन नी । त्यसैले अर्को बायोमेडिकल इन्जिनियरमार्फत काम गराएको हुँ ।’
प्रतिक्रिया दनुहोस्