अत्तरिया : कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले विगत १३ महिनाको अवधिमा होटलबाट १०४ जनालाई पक्राउ गरेको छ । १३ महिना अगाडि इप्रका मालाखेतीको कमाण्ड सम्हालेर सरुवा हुन लागेका डिएसपी गंगा बहादुर थापाले आफ्नो कार्यकालमा होटलमा हुने अनैतिक क्रियाकलापमा संलग्न १०४ जना पक्राउ गरेको जनाएका हुन ।
मंगलबार आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले सो अवधिमा लागू औषध सहित १ सय जना पक्राउ परेको बताए । उनका अनुसार पक्राउ परेकाहरूको साथबाट ७८ ग्राम ८३२ मिलिग्राम खैरो हिरोइन, २१ किलो २८० ग्राम चरेस, २८० ट्याब्लेट नाईट्राभेट÷ट्रामाडोल, १ हजार टेपाण्डाडोल बरामद गरिएको छ । लागू औषधका ५९ मुद्दामा ९५ पुरुष र ५ महिला पक्राउ परेको उनले बताए ।
उनले १३ महिनाको अवधिमा जुवा तास सम्बन्धी मुद्दामा ८५ जना पक्राउ परेको बताए । उनीहरूको साथबाट ६ लाख १० हजार, १४९ बरामद गरिएको थियो । त्यस्तै १३ महिनाको अवधिमा १ करोड १६ लाख ७० हजार ६५५ रुपैयाँ बराबरको भन्सार छलीको सामान समेत बरामद गरिएको डिएसपी थापाले बताए ।
उनले १३ महिनाको अवधिमा ५० जना फरार पक्राउ गरी ६ वर्ष २० दिन कैद भुक्तान र ८ लाख ८२ हजार ८६३ रुपैयाँ जरिवाना असुल गरिएको बताए । उनले यो अवधिमा २७७ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गरिएको बताए ।
डिएसपी थापाले २०८० चैत १९ गते आफ्नो कार्यकाल सम्हालेका थिए ।
डिएसपी थापाले आफ्नो कार्यकालमा भएका गोदावरी नगरपालिका – ३ मा भएको सामूहिक जवर्जस्ती करणी घटना, गोदावरी नगरपालिका – ५ गेटामा भएको कुमारी देवी थारुको शङ्कास्पद मृत्यु घटना, गौरीगंगा नगरपालिका – ११ कान्तिपुरका ३५ वर्षीय सुरेश भुलको हत्या घटना र गोदावरी नगरपालिका – १ अत्तरियाको दुर्गा मन्दिरमा भएको जगदीश कैनीको हत्या घटनाको सफल अनुसन्धान गर्न सफल भएको बताए ।
प्रतिक्रिया दनुहोस्