कृषि तथा पशु सम्बन्धीका परीक्षण अब गोदावरीमै हुने

अत्तरिया : गोदावरी नगरपालिकाको ठुलो जनसङ्ख्या कृषिमा आबद्ध छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार ११ हजार १८२ परिवार पशुपालनमा र १३ हजार १४२ परिवार कृषि क्षेत्रमा आबद्ध छन् । नगरको ठुलो हिस्सा कृषि तथा पशुपालनमा आबद्ध हुँदा पनि पशु तथा कृषि सम्बन्धीका परीक्षणका लागि नगरबाहिर तथा जिल्लाबाहिर नै पठाउनुपर्ने बाध्यता अब भने अन्त्य भएको छ ।

नगरपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन निर्माण भएपछि किसानहरूलाई सहज रूपमा सेवा सुविधा पाउने विश्वास लिइएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) अन्तरगतको आर्थिक कोरिडोर कार्यालय डडेल्धुराले निर्माण गरेको सो भवन सोमबार गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । आवश्यक औजार उपकरण सहितको सो भवनबाट कृषि तथा पशुपन्छी सम्बन्धीका सम्पूर्ण कार्यहरू हुने नगरपालिकाले जनाएको छ ।

Seti Hospital

नगरपालिकाको पशु सेवा शाखाका कर्मचारी टेक साहुले कृषि तथा पशुपन्छी सम्बन्धीका सबै परीक्षणहरू अबदेखि नगरपालिकामै हुने बताए । उनले यसअघि पशुपन्छीमा गोबर परीक्षण मात्रै हुने गरिएकोमा अब भने सबै परीक्षणहरू नगरपालिकामा निर्माण गरिएको सेवा केन्द्रबाट दिइने बताए । ‘यसअघि कृषि क्षेत्रका कुनै पनि परीक्षणहरू यहाँ हुन्थेनन् भने पशुपंछीक्षेत्रको पनि गोबर परीक्षण मात्रै हुने गरेको थियो’ उनले भने ‘अब भने यहाँबाट नै कृषि क्षेत्रका बिउ, माटो, रासायनिक मल, प्राङ्गारिक मल लगायतका परीक्षण तथा पशुपन्छी क्षेत्रका सबै परीक्षण हुनेछन् ।’ उनका अनुसार कृषि क्षेत्रमा अब बिउको उमार शक्ति र टेट्राजोलियम परीक्षण हुनेछ भने माटोको प्राङ्गारिक पदार्थ, माटोको पिएच, नाइट्रोजन, फस्फोरस, पोटास परीक्षण र सूक्ष्म तत्त्वको पनि विश्लेषण गरिनेछ । त्यस्तै रासायनिक मलपरिक्षण सेवा तथा प्राङ्गारिक मल परीक्षण सेवा पनि नयाँ भवनबाट दिइने साहुले बताए ।

कृषि क्षेत्रमा यसअघि यस्ता परीक्षणहरू गर्नुपरे कञ्चनपुरको सुन्दरपुरमा रहेका माटो तथा मल परीक्षण प्रयोगशाला, बिउ विजन प्रयोगशाला र बाली संरक्षण प्रयोगशालामा पठाउनुपर्ने बाध्यता थियो । नयाँ भवनमा आवश्यक औजार उपकरणहरू सहित जडान भएपछि अब भने सो परीक्षणहरूका लागि सहज भएको साहु बताउँछन् । ‘कृषि क्षेत्रमा केही परीक्षण गरौँ भने पनि कञ्चनपुर जानुपर्ने बाध्यता थियो, जुन खर्चिलो एवम् किसानहरूका लागि गाह्रो काम थियो’ उनले भने ‘तर अब ती सबै परीक्षणहरू यतैबाट हुनेछन्, जसले गर्दा किसानहरूलाई सहज रूपमा कृषि सम्बन्धीका सेवासुविधाहरु लिन सजिलो हुनेछ ।’

उनले पशुपंछीक्षेत्रमा पनि अब गोबर सहित अन्य परीक्षणहरू पनि गरिने बताए । ‘हामीले यस अघि गोबर परीक्षण मात्रै यहाँबाट गर्ने गरेका थियौ, अन्य परीक्षणहरूका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी पठाउने गरेका थियौँ’ उनले भने ‘भवन निर्माण सँगै अब यहीबाट पशुपन्छी पालक किसानहरूलाई पशु स्वास्थ्य परीक्षण, रगत, गोबर, पिसाब चेकजाँच, सिएमटी टेस्ट (दूध परीक्षण), बायोकेमिकल तथा भाईरोलोजी लगायतका परीक्षण सेवाहरू पनि दिन सक्छौ ।’ उनका अनुसार पशुपन्छीहरूको पोस्टमार्टम, माइनर र मेजर अप्रेसन तथा घाउ ड्रेसिङका सेवाहरू पनि नयाँ भवनबाट प्रदान गरिनेछन् ।

सुविधा सम्पन्न भवन निर्माण भएकाले अबका दिनहरूमा कृषकहरूलाई कृषि तथा पशुपंछीसम्बन्धी सेवाहरू दिनका लागि सहज हुने उनी बताउँछन् ।

वार्षिक १० हजार किसानले सेवा लिने अपेक्षा

भवन निर्माण गर्ने आर्थिक कोरिडोर कार्यालय डडेल्धुराले भवनबाट वार्षिक १० हजार किसानले सेवा लिने अपेक्षा रहेको बताएको छ । कोरिडोर कार्यालयका प्रमुख पशुपति नाथले नयाँ निर्माण गरिएको भवनबाट नगरभित्रका १० हजार बढी किसानहरूले लाभ लिने अपेक्षा रहेको बताए ।

उनले किसानहरूको सहजताका लागि नै भवन निर्माण गरिएको बताए । ‘भवनबाट विशिष्टीकृत कृषि तथा पशुपन्छीका सेवाहरू आधुनिक तथा विस्तृत रूपमा दिन सकिन्छ, जसका लागि विभिन्न प्रयोगशाला उपकरणहरू रहेका छन्’ उनले भने ‘जसबाट कृषिमा माटो जाँच, बिउ परीक्षण, बालीनालीका रोगव्याधी परीक्षण र उपचार गर्ने सुविधा रहन्छन् भने पशुपन्छीका रोग पहिचान गर्ने, परीक्षण गर्ने, उपचार गर्ने, नस्ल सुधारका काम गर्ने, औषधी उपचार लगायतका कामहरू पनि रहनेछन् ।’

उनका अनुसार महाकाली राजमार्ग कोरिडोर अन्तर्गत पर्ने ५ वटा जिल्लाका १७ वटा पालिकामा रिड आयोजना लागु भइरहेको छ । जसमध्ये कैलालीका ३ वटा पालिकाहरूमा काम भइरहेको उनी बताउँछन् । उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र चुरे गाउँपालिकामा आयोजना लागु भएको छ । सो आयोजना अन्तर्गत गोदावरी नगरपालिका र चुरे गाउँपालिकामा सेवा केन्द्रहरू निर्माण गरिएको उनले बताए । उनका अनुसार चुरे गाउँपालिकामा निर्माण गरिएको सेवा केन्द्र भवन पनि यही महिनाको ७ गते गाउँपालिकालाई हस्तान्तरण गरिसकिएको छ ।

अत्तरियामा कृषि तथा पशुपन्छी सेवा केन्द्रको २०८० भाद्र १३ गते गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले शिलान्यास गरेका थिए । उक्त भवन नगरपालिकाको वडा नम्बर १ को कार्यालय नजिकै निर्माण गरिएको छ । उक्त भवन २०८१ असार मसान्तसम्म निर्माण कार्य सक्ने गरी काठमाण्डौको सिनरजित विल्डर्स प्रालिसँग सम्झौता गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार