कास्की र गोरखामा चट्याङ लागेर तीनको मृत्यु, दुई घाइते

काठमाडौं : गण्डकी प्रदेशको कास्की र गोरखामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । 

कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर संखुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । 

Seti Hospital

समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबार नै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

यस्तै, गोरखामा चट्याङ लागेर सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासि परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए । 

मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षीया सुकमायाँ आले, १८ वर्षीया बिपना आले घाइते भएका छन् । घाइते दुवैजनाकोे चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार