अत्तरियामा खानेपानीको सङ्कट टार्न विकल्पको खोजी गरिँदै

अत्तरिया : तीव्र सहरीकरणको विस्तार भइरहेको अत्तरियामा खानेपानी सङ्कट बढ्दै गएको छ । हालसम्म भूमिगत जनश्रोतमा निर्भर रहेर खानेपानी आपूर्ति गरिँदै आएको भए पनि उक्त श्रोतबाट पानी वितरण गर्न हम्मे हम्मे पर्न थालेको छ । अत्तरियामा २०६४ सालदेखि खानेपानी वितरण गर्दै आइरहेको अत्तरिया साना सहरी खानेपानी संस्थाले हाल सम्म भूमिगत पानी निकाल्न ९ वटा बोरिङ गाडिसकेको छ । तर, गाडेका बोरिङहरूमा केही वर्षमै धमिलो पानी आउने गरेका कारण ५ बोरिङ बन्द भइसकेका छन् भने सञ्चालनमा रहेका ४ बोरिङमा पनि कम पानी आउने गरेको छ ।

भूमिगत जलश्रोत भरपर्दो नभएकाले हाल गोदावरी – ४ को गाजरी खोलाबाट पानी ल्याउन अध्ययन गरिरहेको खानेपानी संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले बताए । उनले खानेपानीको आपूर्तिका लागि भूमिगत पानीका श्रोतमा भर पर्न सक्ने अवस्था नभएकाले करिब २५ किलोमिटर टाढा रहेको गाजरी खोलाबाट पानी ल्याउन सके अत्तरिया क्षेत्रको खानेपानीको दिगो समाधान हुने बताए ।

Seti Hospital

उनले यस क्षेत्रको समस्याका विषयमा खानेपानी मन्त्रीलाई जानकारी गराएर प्रस्ताव पेस गर्ने तयारी गरिएको बताए । अत्तरिया खानेपानी संस्थाले हाल करिब ५ हजार ४ सय उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । जसका लागि गोदावरी – २ को महरा कटानमा २ र वनदेवी मन्दिर परिसरमा २ बोरिङ सञ्चालनमा रहेका छन् । ती बोरिङबाट प्रतिसेकेन्ड १६ लिटर पानी आउनु पर्नेमा ९–१० लिटर मात्रै आउने गरेको गरेका कारण हाल संस्थाले आवश्यकता अनुसार पानी वितरण गर्न नसकिएको खानेपानी संस्थाले जनाएको छ ।

हाल दुई खानेपानीका ट्याङ्की मार्फत पानी वितरण गरिँदै आएको भए पनि दुवै ट्याङ्कीको क्षमता २ हजार ४०७ घरधुरी मात्रै रहेको कार्यालय प्रमुख पनेरुले बताए । उनले अत्तरिया बजार क्षेत्रमा तीव्र बस्ती विस्तार भइरहेका कारण हाल ५ हजार ४ सय घरधुरीलाई अहिलेकै पानीको श्रोतबाट पानी वितरण गर्न समस्या भइरहेको बताए । उनले गाजरी खोलाबाट पानी ल्याउन सकेमा हाल गोदावरीका १, २ र ४ बाहेकका वडामा पनि खानेपानी वितरण गर्न सकिने बताए ।

अत्तरियामा खानेपानी वितरण गर्न करोडौँ खर्च भए पनि भूमिगत श्रोत नै घट्दै जान थालेपछि खानेपानीको सङ्कट बढ्न थालेको हो । खानेपानी संस्थाले तेघरीमा ओभरहेड ट्याङ्की लगायतका संरचना निर्माण गर्न करिब १० करोड खर्च गरिसकेको छ भने बनदेवीमा १३ करोडको लागतमा एक वर्ष अघि मात्रै ओभरहेड ट्याङ्की सहितका संरचना निर्माण गरिएका छन् ।

अत्तरिया क्षेत्रमा खानेपानी वितरणका लागि करोडौँ रकम खर्च गरिदा पनि पानीको श्रोतको भरपर्दो व्यवस्था नहुँदा यस क्षेत्रमा पानीको सङ्कट भने कायमै रहेको छ । खानेपानीको समस्या सुख्खा मौसममा बढी हुने गरेको छ । जलवायु परिवर्तन, वर्षा नहुनु, र जनसङ्ख्यामा भएको तीव्र वृद्धिका कारण खानेपानी आपूर्तिमा चुनौती थपिँदै गएको सरोकारवालाहरुको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार