दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकामा खरीखानीले केहि व्यक्तिलाइ गाउँमै रोजगारी मिलेको छ।
आठ वर्षदेखि दार्चुला जिल्लाको उत्तरमा पर्ने दुहुँ गाउँपालिका–५ को नौमुणे क्षेत्रबाट निकालिएको खरी दार्चुलाको खलङ्गा नाकाबाट भारतको हल्द्धानी निर्यात भइरहेको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदीप मानन्धरले जानकारी दिए। नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागमा कञ्चनपुर जिल्लाको जियो मिनिरल रिर्जब्स प्रालिले आर्थिक वर्ष २०७४÷७५ मा खानी दर्ता गरेर सो ठाउँमा उत्खनन गरेर खरी निकाल्न सुरु गरेको हो।
खानीमा दुहुँ गाउँपालिका–५, गरमोराका स्थानीय दानसिंह महरालगायत १५ जना स्थनीय महिला÷पुरुषले रोजगारी पाएका छन्। उनीहरूलाई प्रालिले दैनिक ७५० रुपियाँ ज्याला उपलब्ध गराउँदै आएको छ। विगतका वर्षमा भारतका विभिन्न ठाउँमा गएर मजदुरी गर्ने गरेका महरा खरीखानी सञ्चालनमा आएदेखि गाउँमै काम गरिरहेका छन्। घरनजिकै रोजगारी पाएका उनी दैनिक ७५० रुपियाँ पाउँदा खुसी छन्।
“स्थानीय दानसिंह महरा भन्नुहुन्छ, गाउँघरमै रोजगारी पाएका छौँ, खुसी छौँ,” उनी र उनीसंगै काम गर्ने मजदुरले खरीखानबाट खरी निकाल्ने काम गर्ने गरेको प्रालिका सञ्चालक डा. सुरजप्रसाद भट्टले जानकारी दिए। विकट जिल्लाको विकट बस्तीमा खानी खोलेर स्थानीयलाई रोजगारी दिन पाउँदा आफूलाई समेत खुसीको अनुभूति हुने गरेको उनले बताए। दानसिंह महरासँगै दुहुँ गाउँपालिका–५ का अन्य १३÷१४ जना खरीखानीमा काम गर्दै आएका छन्।
स्थानीयले मात्रै नभएर जिल्ला बाहिरका नागरिकले पनि खानीबाट प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको बताइएको छ। खानीबाट जिल्ला सदरमुकाम खलङ्गासम्म खरी ढुवानी गर्न १७ वटा ट्याक्टर प्रयोग भइरहेको प्रालिका सञ्चालक डाक्टर भट्टले बताए। ट्याक्टरचालक, स्थानीय नागरिक र व्यापारीले प्रत्यक्ष रोजगारी पाइरहेको उहाँको दाबी छ। खानीमा संलग्न कामदारले वर्षमा आठ महिना रोजगारी पाइरहेका छन्। वर्षायामको चार महिना असार, साउन, भदौ र असोजमा काम बन्द हुने तथा बाँकी आठ महिना काम चल्ने गरेको छ। यति मात्रै नभई जग्गाधनीसँगको विवादका कारण बेला बेला काम बन्द हुने समस्या रहेको उनले बताए। सरकारले खनिज पदार्थ भएको जमिनलाई बिना कुनै रोकटोक काम गर्ने कम्पनीलाई उपलब्ध गराउन सक्नुपर्नेमा उहाँको जोड छ।
दुहुँ गाउँपालिका–५, नौमुणेको ५.८७ वर्ग किलोमिटर जमिन लिजमा लिएर खरी निकाल्ने काम भइरहेको छ। जियो मिनिरल रिर्जब्स प्रालिले आव २०७४÷७५ देखि हालसम्म तीन हजार ८३८ टन खरी भारत निर्यात गरेको दार्चुला भन्सार कार्यालयको तथ्याङ्क छ। खरी निर्यातबापत भन्सार कार्यालयले ५७ लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन गरी सरकारलाई बुझाइएको छ।
प्रतिक्रिया दनुहोस्