काठमाडौं : प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान गर्ने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनीविरुद्ध बैंकिङ कसुर अपराधमा सीआईबीले अनुसन्धान गर्ने भएको हो । यो कसुरमा उनीविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न भनेर पत्राचार गरेपछि सीआईबीले यो विषयमा अनुसन्धान थालेको हो ।
सीआईबी प्रवक्ता एवं एसपी सुधीरराज शाहीले भने, ‘प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ । अहिले परिसरको हिरासतमा हुँदा हामीले पनि ल्याएर अनुसन्धान गर्छौँ ।’
प्रसाईंले लिएका ऋणहरू दुरुपयोग गरेकाले कारबाही गर्न भनेर राष्ट्र बैंकले पत्राचार गरेको हो । उनीमाथि होटल, अस्पताल, व्यवसाय विभिन्न नाममा अर्बौंको ऋणलाई दुरुपयोग गरेको आरोप लागेको हो ।
प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको, प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोप छ । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
चैत १५ को घटनापछि उनी भारतको असम भागेका थिए । उनलाई विशेष ब्युरोको टोलीले चैत २९ गते नेपाल ल्याएको हो ।
प्रतिक्रिया दनुहोस्