धनगढी : फेसबुकलगायत सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा दर्ता हुन सरकारले दिएको एक महिनाको म्याद सकिएको छ । तर, यो अवधिमा एउटा पनि सामाजिक सञ्जाल दर्ता हुन आएनन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत ७ गते एक सूचना प्रकाशित गरी सबै सामाजिक सञ्जाललाई दर्ता हुन आह्वान गरेको थियो । सूचनामा अबको ३० दिनभित्र कानूनबमोजिम मन्त्रालयमा सूचीकण गर्न तथा नेपालभित्र सम्पर्क विन्दू, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमनको परिपालन निगरानी गर्ने अधिकारीको व्यवस्था गर्न भनिएको छ ।
तोकिएको समयभित्र सुचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० को दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने चेतावनी सूचनामा दिइएको छ ।
यही सूचनाबमोजिम सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले तोकिएको समयभित्र दर्ता हुन नआउने सामाजिक सञ्जालमा रोक लगाइने भनेर पटक–पटक चेतावनी दिइरहेका छन् । आज एक कार्यक्रममा पनि उनले चेतावनी दोहोर्याए ।
सञ्चारिका समूहको ९ औं महाधिवेशनमा सम्वोधन गर्दै सञ्चारमन्त्री गुरुङले म्याद सकिन लाग्दा पनि सामाजिक सञ्जालहरु दर्ता हुन नआएको गुनासो गरेका थिए । मेटाले नेपाललाई हेपेको भन्दै आक्रोशसमेत उनले पोखे ।
गुरुङको भनाइ यस्तो थियो:
‘पहिले पनि तीन महिनाको सूचना गरेको हो दर्ता गर्न आउ भनेर । फेरि एक महिनाको सूचना निकालियो । त्यो पनि दुई–तीन दिन बाँकी छ, तर कोही आउँदैन । मेटा, जसले फेसबुक चलाउँछ, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम चलाउँछ, अहिलेसम्म दर्ता गर्न किन आउँदैन ? सरकारलाई नै टेर्दैन उसले । नेपाललाई नै टेर्दैन । तेरो टोटल जिडीपीभन्दा हाम्रो जीडीपी बढी, तेरो वार्षिक बजेटभन्दा हाम्रो धेरै गुना बढी भन्ने उसको घमन्ड छ । अहंकार छ । तेरो मुलुकमा अर्ब हो आम्दानी, हाम्रो कति विलियन, ट्रिलियन छ, तँलाई किन मान्नुपर्ने भन्छ ? तेरो विधेयकमा हाम्रो असहमति छ रे, नेपालमा कस्तो विधेयक बनाउने, कस्तो कानून बनाउने भनेर मेटाले भन्ने हो कि हामीले भन्ने हो ? त्यो घमन्ड गरेर बस्यो भने त्यसमाथि प्रतिबन्ध लाग्छ, मैले भनिसकेँ । होइन, हामी चलाउँछौं भन्ने हो भने आउनुपर्यो ।’
मन्त्री गुरुङले सार्वजनिक कार्यक्रममा कडा चेतावनी दिइरहेका भए पनि आईतबारबाटै सामाजिक सञ्जाल बन्द गर्ने विषयमा मन्त्रालयले कुनै तयारी गरेको छैन । मन्त्रालयका उच्च अधिकारीहरु ‘राजनीतिक निर्णय’ को प्रतीक्षामा छन् ।
एक अधिकारीले भने, ‘हामीलाई अहिलेसम्म केही पनि निर्देशन आएको छैन । सञ्चारमन्त्रीज्यूले बोल्नुभएको सुनेका छौं । सायद केही सोचेरै बोल्नुभएको होला । त्यो पर्सि नै थाहा हुन्छ ।’मन्त्रालयकै अर्का अधिकारीले भने सञ्चारमन्त्रीको भाषणलाई ‘घुर्की’ को संज्ञा दिए ।
प्रतिक्रिया दनुहोस्