काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ।
बुधवार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो। तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा ग¥यो । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे। त्यसअघि निरज यादवले २३ रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो। शिव माथुरले सर्वाधिक ६३ रन बनाए। आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए।
सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए । ६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझायो।
नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए। बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए। सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए।
नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ। नेपालजस्तै अपराजित अफगानिस्तानले आज माथिल्लो मुलपानीमा यूएईसँग खेल्दै छ र पहिले ब्याटिङ गरेर ३५९ रनको विशाल योगफल खडा गरेको छ।
आज अफगानिस्तानले यूएईलाई हराएमा नेपाल र अफगानिस्तानबीच शनिबार हुने खेल निर्णायक हुनेछ।
प्रतिक्रिया दनुहोस्