काठमाडौं : ललितपुरको खपिन्छेँ टोलस्थित एक घरको पानी ट्यांकीमा मृत भेटिएकी बझाङकी ११ वर्षीया दुर्गा बोहराको हत्या उनकै दाइले गरेको अनुसन्धानका क्रममा खुलेको छ । हत्या आरोपमा प्रहरीले उनका १५ वर्षीय दाइलाई पक्राउ गरी अनुसन्धान गर्दा यो खुलासा भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, हत्या हुनुको कारण लागुऔषध भएको देखिएको छ ।
चैत २९ गते खपिन्छेँ टोलको घरको भुँई तलामा रहेको ट्यांकीभित्र दुर्गाको शव फेला परेको थियो । सो घरमा हालसालै बस्न आएका सञ्जय बोगटीले किरा र गन्ध आउन थालेपछि सफा गर्न ट्यांकी खोल्दा शव फेला परेको थियो ।
बोगटीको परिवार गाबहालबाट चैत १६ गते त्यहाँ बस्न आएको थियो । दुर्गाको परिवार भने फागुन २८ गते नै त्यहाँबाट सरिसकेको थियो । प्रहरी अधिकृतहरूका अनुसार यो घटना चैत ४ गते भएको देखिन्छ ।
फागुन २८ गते दुर्गाको परिवार सो घरबाट सरेको भएपनि नयाँ मान्छे भने बस्न आएको थिएन । त्यसैले कोठा सरेको भएपनि उनीहरू बेला बेला त्यहाँ जाने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
घटना भएको दिन रातिपख दुर्गा र उनका दाइ कपडा लिन भनेर गएको अनुसन्धानका क्रममा खुलेको छ । लागुऔषध सेवनकर्ता उनीहरू दुवैले त्यहाँ लागुऔषध सेवन गरेको एसएसपी अधिकारीले बताए ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार दुई जनाबिच मैनबत्ती निभेपछि सुरु भएको विवाद अन्तिममा हत्याको तहसम्म पुगेको हो ।
‘मैनबत्ती निभेको निहुँमा एकअर्काबीच झगडा भएको रहेछ, तैँले किन बत्ती निभाइस् भन्ने कुरालाई लिएर हातपातसमेत भएको रहेछ, त्यहीबिच दाइले डोरीले घाँटी कसेको भनेका छन्,’ उनले भने ।
त्यसो त मृतक बालिकाले चुरोट, रक्सी, लागुऔषध खाने, बेलाबेला घर छाडेर हिँड्ने गरेकाले उनको खोजी नगरेको पनि पाइएको छ । मृतक बालिकाकी अर्का दाइ पनि छन् ।
उनको. हत्या गरेपछि दाइले शव त्यहीँ छाडेर पछि बस्दै गरेको घर फर्किएको र भोलिपल्ट आएर शवलाई ट्यांकीभित्र राखेर भागेको अनुसन्धानमा खुलेको छ । उनको शव फेला परेपछि पोस्टमार्टमको लागि पाटन अस्पताल लगिएकोमा पोस्टमार्टमले पनि घाँटीमा कसेर हत्या भएको देखाएको छ । अन्तिम रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्