काठमाडौं : नेपाल प्रहरीका १७ औं महानिरीक्षक (आईजीपी) प्रदीपसमशेर जबराको ७८ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनी विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहेर उपचाररत थिए ।
उनका छोरा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपसमशेर राणाले पुष्टि गरेअनुसार जबराको अन्तिम संस्कार आइतबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने तयारी भइरहेको छ । जबराले २०५७ सालको असोजदेखि २०५९ सालको पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनको कार्यकालकै समयमा सशस्त्र प्रहरी बल (एपीएफ) को स्थापना भएको थियो, जसअन्तर्गत थुप्रै प्रहरी कर्मचारी नयाँ संगठनमा समायोजित भएका थिए ।
सशस्त्र द्वन्द्वको कठिन समयलाई उनले कुशल ढंगले व्यवस्थापन गरेका थिए । सुरक्षा चुनौतीहरूका बीच पनि जबराले निष्पक्ष निर्णय लिन कसर बाँकी राखेनन् । उनले आफ्नै छोरालाई इन्स्पेक्टर दर्जामा भर्ना भए लगत्तै द्वन्द्वग्रस्त जिल्ला रोल्पामा ड्युटीमा खटाएका थिए । प्रदर्शन र नीतिगत निर्णयमा कडाइका लागि चिनिने जबराको निधनले नेपाली सुरक्षा निकायले एक अनुभवी नेतृत्व गुमाएको छ ।
प्रतिक्रिया दनुहोस्