काठमाडौं : नेपालले हङकङमा जारी टी-२०आई शृंखलामा कुवेतविरुद्ध ६ विकेटको शानदार जित हासिल गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ ।
कुवेतको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी राख्दै ४ विकेटको क्षतिमा पूरा गर्यो ।
यो नेपालको टी-२०आईमा सर्वाधिक उच्च सफल चेज हो ।
यस अघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य पूरा गरेको थियो, जुन उनका लागि उत्कृष्ट उपलब्धि थियो । नेपालका लागि कुशल भुर्तेलले ८१ रनको अर्धशतक बनाउँदै शानदार प्रदर्शन गरे ।
उनले ५० बलमा ६ चौका र १ छक्का प्रहार गरे। साथमा आसिफ शेखले ५३ रन बनाउँदै १२७ रनको ओपनिङ साझेदारी गर्दा नेपालको जितको आधार तयार गरे ।
यो साझेदारी नेपालको टी-२०आई इतिहासमा सबैभन्दा ठूलो ओपनिङ साझेदारी हो ।
अर्कोतिर, नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेल्दै फिनिशिङ कामलाई सजिलो बनाएका थिए । उनले २ चौका र ३ छक्का प्रहार गरे।
योसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक नयाँ कीर्तिमान बनाएका छन् । उनले करियरको ७६ खेलमा ६६ इनिङ्समा डक आउट नभइ खेल्दा सबैभन्दा धेरै इनिङ्समा डक आउट नगरेको कीर्तिमान कायम गरेका छन् ।
दीपेन्द्रले अहिलेसम्मको आफ्नो टी-२०आई करियरमा एकपटक पनि डकमा आउट भएका छैनन्, र १० खेलमा उनलाई ब्याटिङ गर्न आवश्यक पनि परेको छैन ।
दीपेन्द्रले यसअघि पनि रेकर्ड तोड्दै ९ बलमा अर्धशतक बनाउने कीर्तिमान आफ्नो नाममा दर्ता गरेका छन् । यो कीर्तिमान अझै पनि तोडिएको छैन र केवल बराबरी गर्न सकिन्छ । साथै, उनी एकै ओभरमा ६ बलमा ६ छक्का हान्ने दुर्लभ उपलब्धि पनि हासिल गरेका खेलाडीमध्ये रहेका छन् ।
प्रतिक्रिया दनुहोस्