काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छाना लगाउने कार्य गरेको बताएका छन् ।
बुधबार संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा आयोजना गरेको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
सरकार र गणतन्त्रवादी दलहरू राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेको उनको आरोप छ ।
उनले लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्ने गरी कमाएको सम्पत्ति र भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनका लागि गणतन्त्रवादी दलहरू लागि परेको आरोप लगाए ।
राजतन्त्र पक्षधरहरूले यो समयमा सचेत भएर अगाडि बढ्न नसके आफूहरूको विचार सधैँका लागि समाप्त हुने भन्दै आफूहरूको आन्दोलनका कार्यक्रममा सहभागी हुन उनको अपिल छ ।
‘१५ चैतको घटनाबाट हामी कति पनि विचलित हुनुपर्ने जरुरत छैन । हतोत्साहित र निराश हुनुपर्ने जरुरी छैन । यो घटनाबाट पाठ सिकेर आन्दोलनलाई नयाँ ढंगबाट र नयाँ शिराबाट उठाउनुपर्दछ । अहिलेको सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलका नेताहरूले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेका छन्,’ थापाले भने ।
उनले अगाडि भने, ‘१५ चैतको घटनासँग कुनै साइनो र सरोकार नै नभएको राजा ज्ञानेन्द्रलाई जुन ढंगबाट प्रधानमन्त्रीदेखि अन्य नेताहरूले लाञ्छना लगाउने काम गरे त्यो नेपाली जनतालाई स्वीकार्य छैन । जनताले बुझेका छन् कि लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्ने गरी कमाएको सम्पत्ति देश विदेशमा लुकाएर राखेको, भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनको निमित्त यिनीहरूले यो प्रयास गरेका हुन् । यो सफल हुन दिने छैन ।’
केही राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको भन्दै उनले त्यो प्रयास सफल हुन नदिने बताए ।
सत्तामा आफ्नो वर्चस्व कायम गर्न र ब्रम्हलुटलाई सुरक्षित गर्न प्रमुख राजनीतिक दलहरू नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको उनको आरोप छ ।
‘सायद प्रधानमन्त्रीले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न खोज्नुभएको आभास पाइन्छ । केही राजनीतिक दलहरूले आफ्नो वर्चस्वलाई कायम गर्न, आफ्नो ब्रम्हलुटलाई सुरक्षित गर्न संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लाग्नुभएको देखिन्छ । म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, प्रमुख राजनीतिक दलका नेताहरूले यो धृष्टता गर्नुभयो भने देशमा आगो बल्छ । त्यो आगोको पहिलो शिकार तपाईँहरू हुनुहुन्छ,’ उनले भने ।
प्रतिक्रिया दनुहोस्