धनगढी : कैलालीको अत्तरियामा बुधवार बिहान भेटिएको पुरुषको शव हत्या गरिएर फालिएको प्रहरीले जनाएको छ । बिहान इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको थियो ।
शवको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको जस्तो देखिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए । उनले ढुङ्गाले हानेर टाउकोको बायाँ पट्टिको भाग फुटाइएको बताए । ‘टाउको फुटेको छ । आँखा पनि फुटाइएको छ । अनुहार चिनिने अवस्थामा छैन’ उनले भने ‘शव नजिकै रगत लागेको ढुङ्गा पनि फेला परेको छ ।’ पहिचान नखुलेका ती पुरष अन्दाजी ३५–४० वर्षको जस्तो रहेको जनाइएको छ । उनको साथमा लुगा बाहेक कुनै सामान फेला नपरेको प्रहरीको भनाइ छ ।
मन्दिर भित्रै हत्या
पुरुषको शव मन्दिरको दक्षिण तर्फ प्राङ्गणमा भेटिएको भए पनि घटना मन्दिर भित्रै भएको प्रहरीले जनाएको छ । शव भेटिएको ठाउँ भन्दा २० मिटर जति दुरीमा रहेको मन्दिर प्राङ्गण रक्ताम्मे भएको छ । मन्दिर देखि घिसारेर शव तल फालिएको जस्तो देखिएको डिएसपी थापाले बताए । मन्दिरका पुजारी टिका दत्त पनेरुले बिहान साढे ६ बजे मात्रै आफूले घटनाको बारेमा थाहा पाएको बताए ।
उनले मन्दिर पछाडि रहेको पतञ्जलि योग समितिका मानिसले भनेपछि आफूले थाहा पाएको बताए । ‘म साँझ साढे ७ बजे मन्दिर बन्द गरेर गएको थिए । बिहान साढे ५र६ बजे तिर आएको थिए’ उनले भने ‘बिहान मन्दिरमा आएर साढे ६ बजे तिर पतञ्जलि योग समितिका मान्छेले यहाँ शव छ भनेपछि थाहा पाए ।’ मन्दिरमा शव भेटिएको हल्ला फैलिएपछि प्रहरी आएको उनले बताए । उनले मन्दिर अगाडिको गेटमा ताला लगाएको भए पनि मन्दिर प्रवेश गर्ने अन्य ३ गेट रहेको बताए ।
प्रहरीमाथि प्रश्न
सडक पारीपट्टि रहेको मन्दिरमा यती ठुलो घटना हुँदा पनि प्रहरी अनविज्ञ भएको भन्दै स्थानीयले आक्रोश पोखेका छ । स्थानीयले प्रहरी कार्यालय अगाडिको मन्दिरमा बीभत्स हत्या हुँदा पनि प्रहरीले थाहा नपाउनु प्रहरीको गम्भीर लापरबाही भएको बताएका छन् ।
प्रहरीले अहिले शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ । घटनाको विभिन्न चरणमा अनुसन्धान भइरहेको डिएसपी थापाले बताएका छन् ।
प्रतिक्रिया दनुहोस्