अत्तरिया : हिलाम्मे, धुलाम्मे, जताततै फोहोरै–फोहोर छरपस्ट भएको अत्तरियामा बसपार्कमा बस भन्दा बढी ठेलागाडामा पसल राखिएपछि झन् अस्तव्यस्त बनेको छ । सवारी साधनलाई समेत अवरोध हुने गरी बसपार्क भित्र ठेलागाडा घुमाउने गरिदा बसपार्क अस्तव्यस्त बनेको हो ।
ठेलागाडा व्यवसायीले बसपार्कमा बस भित्रने बित्तिकै बसको ढोकामै ठेलागाडा पसल लगाउने गरेका छन् । ठेलागाडा पसले बिच सामान बेच्ने प्रतिस्पर्धा चल्दा दुर्घटनाको जोखिम समेत बढेको छ । बसपार्कमा साँझको समयमा १ सय भन्दा बढी ठेला राख्ने गरिएका छन् । ती ठेलाबाट दैनिक रूपमा बसपार्कका ठेकेदारले अवैध रूपमा शुल्क समेत उठाउने गरेका छन् ।
गोदावरी नगरपालिका मातहत रहेको बसपार्क नगरपालिकाले पार्किङ शुल्क उठाउन जय भवानी कन्स्ट्रक्सन प्रालिलाई ठेक्कामा दिएको छ । उक्त कम्पनीले चालु आर्थिक वर्षका लागि नगरपालिकालाई १ करोड २६ लाख १५ हजार ९३४ रुपैयाँ दिने गरी पार्किङ शुल्क उठाउने सम्झौता भएको छ ।
तर, नगरपालिकाले बसपार्क ठेक्कामा लगाएर आम्दानी गरिरहेको भए पनि त्यसको अनुगमन, नियमन गर्न भने बेवास्ता गर्दै आएको छ । ठेकेदार कम्पनीले बसपार्कमा राखिएका ठेलाबाट दैनिक २० देखि ५० रुपैयाँ सम्म उठाउने गरेको छ । ठेलागाडामा बसपार्क भित्र व्यवसाय गर्दै आएका व्यवसायीहरूले दैनिक शुक्ल तिरेपछि निर्बाध रूपमा व्यवसाय गर्न पाइरहेका छन् ।
गोदावरी नगरपालिकाले २ वर्ष अघि अत्तरिया बजार क्षेत्रका ठेलागाडा अत्तरिया बसपार्क किनाराको क्षेत्रमा निःशुल्क राख्ने व्यवस्था गरेको थियो । तर, डेढ २ वर्ष देखि नै दैनिक ठेकेदारले शुक्ल लिएर बसपार्क भित्रै ठेला राख्न दिएपछि बसपार्क अस्तव्यस्त बनेको हो । उक्त शुक्ल ठेकेदारले कुनै रसिद नदिई लिने गरेको नाम नबताउने सर्तमा एक ठेला व्यवसायीले बताए । नाम नबताउने सर्तमै ठेकेदार कम्पनीका एक प्रतिनिधिले पनि आफूहरूले नै ठेलाबाट रकम उठाउने गरेको बताए । उनले सरसफाइ गरेबापत नगरपालिकाले र ठेला राख्न दिए बापत आफूहरूले शुक्ल लिने गरेको बताए ।
बसपार्कमा ठेलागाडा भरिदा बस तथा यात्रुवाहक सवारी साधन भने सडक, होटल अगाडि पार्किङ गरिँदै आएको छ । पवनदुत यातायातका फिल्ड कर्मचारी मदन सिंह भण्डारीले बसपार्कका समस्या भनी साध्य नभएको बताए । ‘जताततै धुलो छ । न व्यवस्थित हुन सकेको छ । न कुनै सिस्टम छ’ उनले भने ‘जताततै गाडी लागेको छ । ठेलागाडा लागेका छन् ।’ उनले बसपार्क भन्दा बढी बाहिर सवारी साधन रोकिने गरेको बताए ।
‘चोकमा, होटल अगाडि यात्रु झार्ने चढाउने गरिएको छ । बसपार्कमा मानिस आउनै पाउँदैन’ उनले भने ‘बसपार्क व्यवस्थित हुनुपथ्र्यो । सबै सवारी बसपार्कमा राख्नुपथ्र्यो । यो अस्तव्यस्त भयो ।’ नयाँ वर्ष नजिकिए सँगै बसपार्कमा भिडभाड बढ्दा हाल झनै अस्तव्यस्त बनेको छ । अत्तरिया बसपार्कमा सुदूरपश्चिमका पहाडी ७ वटै जिल्ला जाने बसहरू रोकिने गरेका छन्
प्रतिक्रिया दनुहोस्