बढ्दै मानव वन्यजन्तु द्वन्द्व, करिडोरमा अवरोधले वन्यजन्तुलाई संकट

कञ्चनपुर : चार दिनअघि दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा दशगजा नजिकै वयस्क भाले हात्ती मृत भेटियो । नेपालतर्फ गहुँबारी नजिकै मृत भेटिएको हात्तीको सुँडमा करेन्ट लागेको थियो । करेन्टकै कारण हात्तीको मृत्यु भएको पोष्टमार्टमबाट खुलेको छ । निकुञ्ज कार्यालयले संरक्षण अधिकृत राजेश लम्साललाई उक्त घटनाको अनुसन्धान अधिकृत तोकेको छ । हात्तीलाई विद्युतीय धरापका कारण करेन्ट लागेको हो वा अन्य कुनै कारणले थप कुरा अनुसन्धानपछि खुल्दै जाने छ ।

डेढ महिनअघि जिल्लाकै लालझाडी गाउँपालिका–४ पर्सियामा विद्युतीय धरापमै परेर वयस्क हात्तीको मृत्यु भयो । डिभिजन वन कार्यालयको अनुसन्धानमा विद्युतीय धराप थापेर हात्तीको मृत्यु भएको भन्दै एक जनालाई पक्राउ गरेर मुद्दा प्रक्रिया पनि अगाडि बढायो । तर जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्न सकिने आधार नदेखिएको भन्दै प्रक्रिया अघि बढाएन । पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको उदाहरणका रुपमा यी दुई घटना हुन् । गत सातामात्रै बेलौरी नगरपालिका–२ टेडुवामा गहुँबारीमा पसेको बाघ दुई दिनपछि नियन्त्रणमा लिइयो । गत साउनमा दोधारा चाँदनी नगरपालिका–२ मा बाघकै आक्रमणबाट एक महिलाको मृत्यु भयो । उक्त बाघ पनि दुई दिनपछि नियन्त्रणमा लिइयो ।

Seti Hospital

‘वन्यजन्तुका परम्परागत रुट मासिदै गएका छन्, कतै विकास निर्माण त कतै बस्ती बसेको छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘हात्ती त झन् लामो रुटमा हिँड्ने र आहाराका लागि पनि धेरै क्षेत्र चाहिने जनावर हो, यसका कारण बेलाबेलामा समस्या भइरहेको छ ।’ उनका अनुसार भारत र नेपाल दुवैतर्फ परम्परागत करिडोरमा विकास निर्माणका गतिविधि भइरहेकाले वन्यजन्तुलाई समस्या भएको हो । यसवर्ष मात्रै हात्तीको आक्रमणबाट जिल्लामा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएको डिभिजन वन कार्यालयको तथ्यांक छ ।

हात्तीलगायत अन्य वन्यजन्तुले बालीनालीमा गरेको क्षतिको कुनै विवरण छैन । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि दोधरा चाँदनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । निकुञ्ज आसपासका क्षेत्रमा पनि वन्यजन्तु बस्तीमा पसेर खेतीपातीको नोक्सान भइरहेको छ । ‘संरक्षित क्षेत्र र अन्य वन क्षेत्रमा विकास निर्माणका संरचना पनि तीव्र गतिमा भइरहेका छन्, यसले पनि वन्यजन्तुको करिडोर अवरोध गरेको छ,’ वाग्लेले भने, ‘परम्परागत करिडोडरमा विकास निर्माण र बस्ती हुँदा द्वन्द्व बढेको हो ।’

पछिल्लो समय संरक्षित क्षेत्रमा वन्यजन्तुको संख्या पनि निरन्तर बढ्दै गएको छ । यसले पनि वन्यजन्तु आहाराको खोजीमा बस्तीतिर पस्ने भएकाले द्वन्द्वको अवस्था आउने बताए । तराई भूपरिधिको क्षेत्रमा मानव र वन्यजन्तुको संख्या बढी छ । यहीँ क्षेत्रमा विकास निर्माणका गतिविधि पनि तीब्र गतिमा भइरहेकाले द्वन्द्व बढ्दै गएको डिभिजन वन कार्यालय प्रमुख रामबिचारी ठाकुर बताउँछन् । ‘एउटा संरक्षित क्षेत्रबाट वन्यजन्तु अर्को संरक्षित क्षेत्रमा जान करिडोर निर्माण गरिनुपर्छ, यसले वन्यजन्तु बीचको बशांनुगत सुधारसँगै ठूलो महामारीका बेला कुनै प्रजाति नै लोप हुन सक्ने अवस्थाबाट पनि जोगाउँछ,’ ठाकुरले भने, ‘तर हामीकहाँ करिडोरमै बस्ती र ठूल्ठूला संरचना निर्माणका गतिविधि भइरहेका छन् ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई मात्रै हेर्ने हो भने पनि अहिले महाकाली सिँचाई आयोजना दोस्रो र तेस्रो चरण, पूर्वपश्चिम राजमार्ग र कलुवापुर बेलौरी सडकका कारण खण्डखण्डमा विभाजन भएको छ ।

लालझाडी मोहना संरक्षित क्षेत्रमा पनि अहिले विकास निर्माणका कारण करिडोरमा अवरोध भएको छ । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट लालझाडी हुँदै चुरे फेदी भएर शुक्लाफाँटा र त्यहीँ बाटो भएर फर्किने परम्परागत करिडोर हो । चुरेबाटै ब्रम्हृदेव करिडोर भएर महाकाली तरेर पारी भारतको नन्धौर क्षेत्रसम्म पुग्ने त्यहीँ बाटो फर्किने हात्तीको परम्परागत मार्ग मानिन्छ । तर अहिले उक्त मार्गमा ठाउँठाउँमा अवरोध भएको छ । यसले समेत हात्तीलगायतका वन्यजन्तु बस्तीतिर पस्ने गरेका हुन् ।

दुई वर्षअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै मध्यवर्ती क्षेत्रमा पर्ने शुक्लाफाँटा नगरपालिकाको एक सामुदायिक वनको कार्यालय छेउमा निर्माण गरिएको सेफ्टी ट्यांकीमा फसेर बयस्क हात्तीको मृत्यु भएको थियो । ‘भारतको दुधुवाबाट आउने हात्तीहरु पनि अहिले शुक्लाफाँटामा लामो समय बस्न थालेका छन्,’ निकुञ्जका संरक्षण अधिकृत वाग्लेले भने । आहारा खोज्दै बस्तीमा पस्दा द्वन्द्व सृजना भइरहेको छ । वन्यजन्तुको परम्परागत करिडोर समयमै व्यवस्थापन हुन नसके मानव वन्यजन्तु द्वन्द्व झन् बढ्दै जनो र भविष्यमा विकराल रुप लिन सक्ने जोखिम रहेको संरक्षणकर्मीहरु बताउँछन् । यसकारण परम्परागत मार्ग व्यवस्थापन सँगै संरक्षित क्षेत्रमा सकभर विकास निर्माणका ठूला योजना बनाउन नहुने उनीहरु बताउँछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार