काठमाडौं : पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) नेकपा (माओवादी केन्द्र)को उपाध्यक्षमा मनोनीत भएका छन् । पार्टीका सचिव लीलामणि पोख्रेलका अनुसार चैत १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यसहित उपाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि फागुन महिनाको तेस्रो सातामा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पुन अतिथिको रुपमा सहभागी भएका थिए । अब भने उनलाई पार्टीका सबै तहमा उपाध्यक्षको रूपमा औपचारिक रूपमा मान्यता दिइएको छ । सो निर्णय पार्टीका तल्ला संरचनाहरूमाझ सर्कुलरमार्फत जानकारी गराइएको छ ।
पुनलाई यसअघि उत्पादन ब्युरोको इन्चार्जको जिम्मेवारी पनि दिइएको थियो । उनी लामो समयदेखि माओवादी केन्द्रका विभिन्न बैठकहरूमा आमन्त्रित नेताको रूपमा सक्रिय सहभागिता जनाउँदै आएका थिए ।
२०७२ सालदेखि २०७९ सालसम्म दुई कार्यकाल उपराष्ट्रपति पद सम्हालेका पुन पछिल्लो समय माघ महिनादेखि सक्रिय रूपमा पार्टी राजनीतिमा फर्किएका हुन् । सुरुमा उनले राजनीतिमा पुन: संलग्न हुने इच्छा व्यक्त गर्दा केही आलोचना भएको थियो, तर पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारी दिँदै पुनः मूलधारमा ल्याएको छ ।
पुनको पार्टीमा पुनर्संलग्नता र उपाध्यक्ष पदमा मनोनयनलाई माओवादी केन्द्रले सशक्त नेतृत्व विस्तारको संकेतका रूपमा हेरेको छ।
प्रतिक्रिया दनुहोस्