काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको शालिकमा कालोमोसो दलेका छन् ।
शनिबार राति राप्रपासहित राजावादी समूहले नेपालगञ्जको वीपी चोकमा रहेको वीपीको शालिकमा अभद्र व्यवहार गरेका हुन् ।
उनीहरुले कालोमोसो दल्नुका साथै कालो कपडाले छोपिदिएको भन्दै नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले विरोध जनाए ।
त्यस्तै उनले शालिकमाथि उक्त हर्कत गर्नेलाई कानुनी दायरामा ल्याउन समेत माग गरेका छन् ।
‘आज नेपालगञ्जमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री दुरदर्शी नेता महा मानव वीपी कोइरालाको शलिकमा अभद्र क्रियाक्लाप गरिएको छ । इतिहासको अध्ययन नभएका केही अराजक समूहले गरेको यस हर्कतले हाम्रो आस्था र विचार माथि प्रहारको भएको रुपमा हामीले लिएका छौँ । यो सम्पुर्ण गतिविधि प्रहरीको बाक्लो उपस्तिथि मै भएको हुँदा प्रहरी प्रशासन समेत चुकेको देखिन्छ तसर्थ समाजमा यस्ता अराजक गतिविधि गर्ने व्यक्ति को पहिचान गरि कानुनको दायरामा ल्याउन जोड्दार माग गर्दछु,’ हिजो राति नै सामाजिक सञ्जालमा लेख्दै उनले विरोध जनाएका हुन् ।
सो क्षेत्र राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा निर्वाचित भएको क्षेत्र हो ।
राणासहित राप्रपाका वरिष्ठ उपाध्यक्ष लगायत राजावादी समर्थकहरुलाई गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा मुख्य संलग्न रहेको भन्दै पक्राउ गरी अनुसन्धान भइरहेको छ । राप्रपासहित राजावादी शक्तिहरुले राणा र मिश्र पक्राउको विरोधमा शनिबार राँकेजुलुस गरेको थियो ।
यता राप्रपाको नेपालगञ्ज उपमहानगर समितिले उक्त घटनाप्रति दुख व्यक्त गर्दै आफूहरुले कुनै व्यक्ति वा समूहमाथि आक्रमण गर्ने मनसाय नरहेको जनाएको छ ।
प्रतिक्रिया दनुहोस्