धनगढी : धनगढीको स्वस्तिक अस्पताल नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–३ सहिदगेटमा रहेको अस्पताल नयाँ व्यवस्थापनले एक सय शय्यामा सञ्चालनमा ल्याएको हो।
अस्पतालले सेवाग्राहीलाई सहजता प्रदान गर्न नयाँ प्रविधि र दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको बताएको छ। अस्पतालले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ व्यवस्थापन र एक सय शय्यामा सञ्चालनमा आएको बताएको छ। स्वस्तिक अस्पताल १५ शय्याबाट सुरुवात भएको थियो। अस्पताल व्यवस्थापनले नयाँ आधुनिक उपकरणहरूसमेत थपेको बताइएको छ। स्वस्तिकलाई पूर्वाधार र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी र अत्याधुनिक स्थानमा राख्न सकिने अस्पतालका अध्यक्ष दिपेन्द्र तिवारीले बताए।
अस्पतालमा २४ घण्टै इमर्जेन्सी सेवा, जनरल मेडिसिन विशेषज्ञ सेवा, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, हाडजोर्नी, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा सौन्दर्य रोग विशेषज्ञ सेवा, मुटुरोग विशेषज्ञ सेवा, रेडियोलोजी विशेषज्ञ सेवा, नाक, कान, घाटी रोग विशेपज्ञ सेवा, डेन्टल केयर विशेषज्ञ सेवा, फिजियोथेरापी सेवा, प्रयोगशाला, एक्सरे तथा अल्ट्रासाउण्ड सेवा, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी विशेषज्ञ सेवा, युरो सर्जरी विशेषज्ञ सेवा, न्युरो सर्जरी विशेषज्ञ मेवा उपलब्ध रहेको उनले बताए।
अस्पतालभित्र उच्चस्तरीय प्रविधि जडित शल्यक्रिया कक्ष, आईसीयू, एनआईसीयू तथा प्रसूति कक्षको व्यवस्था गरिएको छ। गुणस्तरीय औषधि र अनुभवी फर्मासिस्ट सहितको फार्मेसीको व्यवस्था, सेवाग्राहीको सहजताका लागि चिसो–तातो मौसमअनुसार आवश्यक सबै स्थानमा एसी जडित सरचना र स्तरीय एम्बुलेन्सको व्यवस्था अस्पतालले गरेको उनले बताए। उल्लेखित सेवासुविधाका लागि अस्पतालमा पूर्णकालीन र आशिक गरी चिकित्सकीय जनशक्ति २४ सै घण्टा उपलव्ध छन्।
विज्ञापन

अस्पतालमा सुदूरपश्चिम प्रदेश भरीकै सरकारी तथा निजी अस्पतालमा पहिलो मोडुलर ओटी रहेको उनले बताए। निःसन्तान दम्पतीमा लागि अस्पतालले विगतमा आईभीएफ शिविर सञ्चालन गरेको थियो। तर, अब पूर्णकालीन आईभीएफ केन्द्र सञ्चालन गर्न लागिएको अस्पतालले बताएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पूर्णकालीन आइभीएफ सेवा स्वस्तिकमा दिन थालिएको हो।
विज्ञापन

नर्सिङको तयारी
विश्वविद्यालय एवम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन लिने योजना अस्पतालले सुनाएको छ। आगामी शैक्षिक सत्रबाट नर्सिङ तथा अन्य मेडिकल कोर्सहरूको पढाइ समेत गरिने पत्रकार सम्मेलनमा बताइएको छ।
निकट भविष्यमै आमा सुरक्षा कार्यक्रम, निःशुल्क बिमा कार्यक्रम, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूका लागि विशेष सुविधा सहितको योजना लागु गर्ने बताइएको छ।
ग्रामीण क्षेत्रमा विज्ञ चिकित्सकसहितको टोलीबाट विगतमा सञ्चालन हुँदै आएका निःशुल्क स्वास्थ्य शिविरलाई परिष्कृत गरिने दाबी गरिएको छ। अस्पतालमा आएका बिरामीको रोग पहिचान, उपचार, औषधी र नियमित परीक्षण गर्ने योजना अस्पतालको छ।
प्रतिक्रिया दनुहोस्