सडक बत्ती बिग्रिँदा स्थानीय र व्यापारीलाई मार

डडेल्धुरा : सडक बत्ती बिग्रिँदा जिल्लाको सदरमुकामसमेत रहेको अमरगढी नगरपालिका क्षेत्र साँझ पर्नेबित्तिकै अन्धकार हुन्छ। सडक बत्ती नबल्दा सर्वसाधारणलाई हिँडडुल गर्न असहज त भएको छ नै, रातको समयमा चोरी डकैतीको जोखिम पनि रहेको छ। नगरपालिकाको बजार क्षेत्रमा जडान गरिएका १ सय २३ वटा सौर्य सडक बत्तीमध्ये अधिकांश बिग्रिएका छन्। २०७४ सालमा प्रतिसोलार सेट १ लाख रुपैयाँ खर्च गरेर जडान गरिएका यी बत्तीहरू बिग्रिएपछि फेरि मर्मत गरिएको छैन।

सात वर्षअघि जिल्लाको बागबजार, तुफानडाँडा, कीर्तिपुर, पोखरा, स्याउले र खलंगा बजार क्षेत्रका सडक किनारामा सोलार बत्ती जडान गरिएको थियो । बत्ती नबल्दा अँध्यारोमा पैदल यात्रुलाई मात्रै नभई वरपरका व्यवसायीलाई पनि समस्या भएको होटल व्यवसायी धर्मदेव थापाले बताए। बत्ती मर्मत र नयाँ बत्ती जडान गर्ने नगरपालिकाको योजना नदेखिँदा स्थानीय निराश छन् । रातको समयमा चोरी, डकैती जस्ता आपराधिक गतिविधि बढ्ने चिन्ता समेत छ।

Seti Hospital

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले सडक बत्ती मर्मत तथा विस्तारका विषयमा जनप्रतिनिधिसँग पटक–पटक छलफल भएपनि मर्मतसम्भारको काम अघि नबढेको बताए। नगरपालिकाले बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरेको भए पनि बिग्रिएका सडक बत्ती मर्मत गर्ने काम अझै बाँकी छ। नयाँ बत्ती जडान गर्न बजेट अभाव भएको भन्दै बिग्रिएका पुरानै बत्ती मर्मत गर्ने योजना रहेको अमरगढी नगरपालिकाले जनाएको छ । राति अबेरसम्म व्यवसाय सञ्चालनमा पनि समस्या भएको स्थानीय व्यापारीले गुनासो गरेका छन् । व्यापारी कृष्णदत्त जोशीले भने, ‘राति पसल बन्द गरेर घर जानुपर्छ । बाहिर अँध्यारो हुन्छ, चोरी हुने डर छ । सडक बत्ती नहुँदा कतिबेला कसले के गर्छ थाहा हुँदैन । नगरपालिकाले बेलैमा यसमा ध्यान दिनुपर्छ ।’

बत्ती बिग्रिएपछि बिहानै कोठाबाट कलेजसम्म पुग्दा मोबाइलको टर्च बालेर हिँड्नु परेको स्थानीय विद्यार्थी सबिन भट्टराईले बाध्यता बताए । ‘बिहान ६ बजे क्याम्पस जानुपर्छ, मेरो कोठाबाट क्याम्पससम्म सडक छ तर, मोबाइलको उज्यालोले क्याम्पस पुग्नुपर्ने अवस्था छ, लाइट भइदिए धेरै राम्रो हुन्थ्यो,’ उनले भने । सडक बत्ती नहुँदा सडक र बजार क्षेत्रमा सुरक्षा चुनौती रहेको प्रहरीको भनाइ छ । अँध्यारोका कारण बजार क्षेत्रमा चोरी, डकैती तथा अन्य आपराधिक क्रियाकलापको जोखिम रहेको डडेल्धुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमले बताए।

‘सडक बत्ती बिग्रिएको कारण अपराधिक गतिविधि बढ्ने खतरा हुन्छ,’ उनले भने, ‘चाडबाडका बेला यस्ता समस्या नआऊन् भनेर प्रहरी सक्रिय हुन्छ तर उज्यालो नहुँदा केही असहज हुने गरेको छ ।’ हाल त्यस्ता घटना भएको नभए पनि जोखिम रहेको उनको भनाइ छ । सडक क्षेत्रमा नयाँ बत्ती जडानका लागि बजेट अभाव भएको अमरगढी नगरपालिकाकी उपप्रमुख पार्वती झुकालले बताइन् । ‘बजेट अभावका कारण सोलार बत्ती मर्मत गर्न नसकिएको हो,’ उनले भनिन् ।

नगरपालिकाका इन्जिनियर कविन्द्र भट्टका अनुसार बिग्रेका बत्तीको सर्भेको काम भइरहेको र कार्यपालिकाले बजेट छुट्याएपछि मर्मत थालिने छ। उनका अनुसार ब्याट्रीको गुणस्तर न्यून हुने गरेका कारण समस्या आउने गरेको छ । ‘व्याट्रीको आयु नै २ देखि ३ वर्ष हुन्छ, त्यसपछि बिग्रिने समस्या आइहाल्दो रहेछ,’ भट्टले भने । उनका अनुसार हाल बिग्रेका बत्ती मर्मतमा १० लाख खर्च लाग्ने देखिएको छ । नगरपालिकाका सूचना अधिकारी मीनराज ओझाले विगतका वर्षमा संघीय सरकारको वैकल्पिक उर्जाले वार्षिक १० लाख रकम दिने गरेको र यो वर्ष उक्त बजेट नआएकाले मर्मत गर्न नसकिएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार