काठमाडौं : काठमाडौँको नागार्जुन नगरपालिका-५ मा रहेको आदेश्वर मन्दिरमा मूर्तिमा पिसाब छर्किएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ परेकी व्यक्ती ६१ वर्षीया मिठु तिवारी हुन्, जो हाल सुकेधारामा बसोबास गर्दै आएकी छन् भने उनको स्थायी ठेगाना काठमाडौँ महानगरपालिका-१७, धोबीचौर रहेको बताइएको छ ।
प्रहरी वृत्त स्वयम्भूका अनुसार, तिवारीले गत पुस २६ गते मन्दिरमा बोतलमा पिसाब ल्याई मूर्तिमा छर्केपछि फरार भएको उजुरी प्राप्त भएको थियो । अनुसन्धानको क्रममा उनीमाथि फागुन २१ गते पनि सोही मन्दिरमा यस्तै कार्य गरेको प्रमाण भेटिएको छ । प्रहरीका अनुसार, उनले आदेश्वर मन्दिर मात्र नभई चुण्डेश्वर मन्दिर, सीतापाइला गणेश मन्दिर र हरिसिद्धि मन्दिरमा समेत पिसाब छर्केको खुलासा भएको छ ।
प्रहरीले घटनास्थल नजिकको सिसिटिभी फुटेजको सहायतामा अनुसन्धान गर्दै जाँदा चैत २१ गते उनी आदेश्वर मन्दिर परिसरमा पाँचवटा बोतलमा पिसाब जस्तो देखिने पदार्थ लिएर आएको अवस्थामा पक्राउ गरिएको थियो । उनीमाथि ‘धर्मसम्बन्धी कसुर’ अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानमा तिवारीले वि.सं. २०७६ सालमा हिन्दू धर्म परित्याग गरी इसाई धर्म अपनाएको स्वीकार गरेकी छन् ।
प्रतिक्रिया दनुहोस्