अछाम : चैतै दसैं नजिकिँदै गर्दा गाउँमा चहलपहल बढेको छ । रोजगारी र अध्ययनको सिलसिलामा घरबाहिर भएकाहरू फर्किने क्रम पनि बढेको छ । गाउँमा महिलाहरू रातो र कमेरो माटो खोज्न व्यस्त देखिन्छन् । मंगलसेन नगरपालिका-११ जुपुका नन्दबहादुर रावल चैते दसैं मनाउनका लागि एक साता अगाडि नै तयारीमा जुटिसकेका छन् । ६० वर्षीय रावल रोजगारीको सिलसिलामा भारतमा बस्छन् । चैते दसैंलाई उनको गाउँमा बडादसैं जत्तिकै उत्साहका साथ मनाइन्छ । जुपु गाउँमा रहेको कालिका देवीको मन्दिरमा सयौंको संख्यामा रागा, बोकाको बलि दिइन्छ ।
‘हाम्रो सबैभन्दा ठूलो पर्व नै चैते दसैं हो । यो पटक कालिका देवीका लागि गरिएको भाकल पूरा गर्न छरिएर रहेका परिवारका सबै सदस्य जम्मा भएका छौं,’ उनले भने, ‘देश, विदेश गएका, घरबाहिर रहेका सबै यतिबेला गाउँ फर्किएका छन् । गाउँमा अहिले दसैंको रौनक छाएको छ ।’ चैतको अन्तिमतिर दसैं भएकाले नयाँ वर्ष पनि मनाउनका लागि गाउँ फर्किएको मंगलसेन नगरपालिका(१२ का कम्मानसिंह रावलले बताए । ‘भाकल पूरा गर्न आउनै पर्ने थियो । यत्तिका लागि भारतबाट आएको हुँ,’ उनले भने,‘ यो पटक नयाँ वर्ष पनि गाउँघरमै मनाउन पाइने भयो ।’
बडा दसैं जस्तै चेतै दसैंमा पनि पुरै घर पोत्नु पर्ने चलन यहाँ छ । वर्षमा दुई पटक घर पोत्ने चलन भएकाले भएकाले घण्टौं हिँडेर माटो ल्याउने गरेको कमलबजार नगरपालिका–५ की मनसरा चलाउनेले बताइन् । ‘कमेरो माटो त घर छेउमै पाइन्छ । तर रातो माटो लिन ४र५ घण्टा नै हिँड्नुपर्छ,’ उनले भनिन्, ‘जुठो परेको भएको वर्ष पुरै घर पोत्न मिल्दैन । अशुद्ध भएको घरलाई चोख्याउन कमेरो र रातो माटाले पोत्नुपर्छ ।’
माटो ल्याउन जाने चहलपहल भएपछि मात्रै गाउँमा दसैं आए जस्तो लाग्ने स्थानीय लाली चलाउने बताउँछिन् । नजिकै रातो माटो नपाइने भएपछि गाउँका महिला जम्मा भएर माटो लिन जान्छन् । ‘सिमेन्ट लगाएको घर हुनेहरु चुना लगाउँछन् । ढुंगामाटोको घरमा रातो माटो र कमेरो नै लगाउछौं,’ उनले भनिन्, ‘माटो निकाल्दा बोटबिरुवा सुक्न थालेको भन्दै बन्द गरेपछि भने हामीलाई दुःख थपिएको छ ।’
घर शुद्ध पार्न जंगलमा माटो खोज्दै भौंतारिनु परेको उनले बताइन् । ‘घर पोत्ने रातो माटो र सेतो कमेरो जतासुकै पाइदैन,’ उनले भनिन्, ‘दसैंमा कसको घर चिटिक्क छ भनेर दाँजिन्छ । त्यही भएर वर्षाभरि पानीले पखालेको भित्तो टाढैबाट टल्किने गरी पोतेकी छु ।’ यहाँ घरको माथिल्लो भागमा सेतो र तल रातोले भित्ता पोतिन्छ । कतिपयले धार्मिक मान्यताका कारण पूरै घर रातो माटोले पोत्नुपर्ने चलन पनि रहेको कमलबजार नगरपालिका(६ विरपथकी नमिता शाहीले बताइन् । ‘हामीले सधैं पूरै घर रातो माटोले पोत्छौं,’ उनले भनिन्, ‘खानीबाट आफैं खनेर ल्याउँछौं । बजारको रंग लगाएर हामीलाई शुभ हुँदैन ।’ उनले घर पोत्न १५ किलोमिटर टाढाको खानीबाट रातो माटो ल्याएकी थिइन् । ‘सरसफाइ भइसक्यो । घर पोतेपछि मात्र पवित्र हुन्छ । माटोले नै पोत्नुपर्छ भन्ने धार्मिक मान्यता छ,’ उनले भनिन् ।
प्रतिक्रिया दनुहोस्