धनगढी : कैलालीमा रुख कटान आदेश नआउँदा चिसापानी–कुइने सडक निर्माण प्रभावित भएको छ।
सडक अधिकार क्षेत्रमा परेका रुख नहटाइएकाले निर्माण कम्पनीले काम अगाडि बढाउन नसकेको हो। सो सडकको ८.३ किलोमिटर खण्ड कालोपत्रेका लागि २०७९ साउन ३ गते नै ठेक्का सम्झौता भएको थियो। कालोपत्रे सडक निर्माणको समयावधि सकिनै लाग्दासम्म काम अगाडि बढ्न सकेको छैन।
आउँदो असारमा सडक निर्माणको ठेक्का समयावधि सकिने सडक डिभिजन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। सडक कालोपत्रे गर्ने खण्डमा ४७२ वटा रुख छन्। साललगायत विभिन्न प्रजातिका ती रुख काट्नुपर्ने छ। रुख कटानको आदेश नमिलेकाले निर्माण कम्पनीले कालोपत्रेको काम अगाडि बढाउन नसकेको सडक डिभिजन कार्यालयका साइट इन्जिनियर चित्र चौलागाईंले बताए।
चौलागाईंले भने, “रुख कटान नगरी गर्न मिल्ने कामहरू निर्माण कम्पनीले गरिरहेको छ तर सडक चौडा बनाउने, कालोपत्रे गर्नेलगायतका अन्य काम हुन सकिरहेका छैनन्। रुख काट्नै बाँकी छ ।”
सङ्घीय सरकारको १२ करोड ८० लाख रुपियाँ लगानीमा चिसापानी–कुइने सडक कालोपत्रे हुने जनाइएको छ। यो सडक निर्माणका लागि दिव्यज्योति–शाही जेभीले ठेक्का पाएको छ।
रुख कटान आदेश नमिलेका कारण कालोपत्रेको काम सुरु नहुँदै ठेक्काको समयावधि सकिन लागेको इन्जिनियर चौलागाईंले बताए। यो सडकमा डबल बिटुमिन सरफेस ट्रिटमेन्ट (डिबिएसटी) कालोपत्रे हुने जनाइएको छ।
चिसापानी–कुइने सडकखण्डमा पर्ने रुख कटान आदेश मन्त्रीपरिषद्ले निर्णय गरिसकेको छ। अब वन विभागसँग सम्झौता गर्न बाँकी रहेको सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले बताए। वन विभागसँग रुख कटानको सम्झौता गर्नकै लागि आफू काठमाडौँमा रहेको जनाउँदै उनले भने, “विभागले सम्झौता गरेर डिभिजन वन कार्यालय पहलमानपुरलाई पठाउँछ।
अनि त्यहाँबाट सम्झौता लिएर मात्रै रुख कटान गर्ने हो ।” कर्णाली नदीको तिरैतिर रहेको यो सडक कैलालीको पहाडी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिकासम्म पुग्ने बाटो हो। यो बाटो भएर अछामदेखि सुर्खेतका स्थानीयले समेत तराईसम्म ओहोरदोहोर गर्ने गरेका छन्। कालोपत्रे बाटो नबनेका कारण स्थानीयले ओहोरदोहोरमा बर्सौंदेखि सास्ती भोग्नु परेको छ।
प्रतिक्रिया दनुहोस्