हिरासतमा राणाको ‘अर्डर’ काजु र स्याउ, गुनासो गरेपछि मिश्रलाई पनि सँगै राखियो

काठमाडौँ : चैत १५ गतेको हिंसात्मक प्रदर्शनपछि राप्रपाका दुई नेता अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्। 

अदालतले उनीहरुलाई आज मंगलबारसम्म हिरासतमा राख्न पहिलो पटक अनुमति दिएको थियो।

Seti Hospital

दुर्गा प्रसाईं भागेपछि पनि प्रदर्शनकारीलाई हल बाँधिएर उक्साएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद समेत रहेका महामन्त्री धवलशमशेर राणालाई त्यसै बेलुका प्रहरीले पक्राउ गर्‍यो।

त्यस दिन उनीहरुलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको थियो। पक्राउ गरेर परिसर लगिएका उनीहरुलाई हिरासतमा राखियो। मिश्रलाई अन्य थुनुवासँगै राखेको प्रहरीले धवलशमशेरलाई भने छुट्टै कोठामा राखेको थियो। तर भोलिपल्ट मिश्रले प्रहरीसँग गुनासो गरे। 

‘महामन्त्रीज्यूलाई छुट्टै कोठामा राख्नुभएको रहेछ। मलाई त यहाँँ गज्याङगुजुङमा साह्रै डिस्टर्ब भयो। अरु त ठीकै छ, म पनि त्यतै बस्न पाए हुन्थ्यो’, उनले प्रहरीसँग अनुरोध गरे। 

त्यसपछि मिश्रलाई पनि प्रहरीले धवललाई राखिएकै कोठामा सारेको थियो। त्यसपछि अहिले मिश्र र राणा एउटै कोठामा छन्। उनीहरुसँगै हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अरुलाई भने अन्य थुनुवासँगै राखिएको छ। 

मिश्र र सांसद राणा भने दिनभरि आफन्त तथा पार्टी नेता कार्यकर्तासँग भेटघाटमै दिनभरि व्यस्त रहन्छन्। मंगलबार पनि उनीहरुलाई भेट्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका राप्रपाका नेता र आफन्त पुगेका थिए। 

यस्तै हिरासतमा बस्दा मिश्र पत्रिका र पुस्तक मागेर पढिरहेका छन्। उनी र धवलशमशेरले प्रहरीकै क्यान्टिनको खाना खान्छन्। धवल शमशेरले भने काजु र स्याउ पनि मगाएका छन्।

धवलशमशेर क्यान्सरका बिरामी हुन्। उनलाई अस्पतालमा राख्ने व्यवस्था गर्न अदालतमा वकिलले माग गरेका थिए। आइतबार उनका वकिलले इजललासमा म्याद थप गर्न लैजाँदा माग गरे पनि मिश्र अस्पताल बस्न मानेनन्। उनले प्रहरी हिरासतमै बसेर मुद्दा लड्ने बताए। त्यसपछि धवलले पनि आफू साथीलाई नछाड्ने बताउँदै हिरासतमै बस्ने भनेका थिए। त्यसपछि उनीहरुलाई परिसर फर्काइएको थियो। 

अब बुधबार म्याद थपका लागि पुनः अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ। राणा र मिश्रलाई प्रहरीले राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ। यसअघि ४१ जनालाई म्याद थप गरिएकोमा मिश्र र राणासहित ११ जनालाई भने राज्यविरुद्धको कसुर पनि थप गरिएको हो।

मंगलबार थप २४ जनालाई अदालत लैजाने प्रहरीको तयारी छ। यस्तै केहीलाई अभद्र व्यवहारमा म्याद थप गरिएको छ। उनीहरु भने भाटभटेनीमा सानातिना सामान चोरेर भागेकाहरु हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार