काठमाडौं : गत साता नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियासँग एएफसी एशियन कप छनोट २०२७ को खेल खेल्यो । यो तेस्रो चरणको खेल नेपालले मलेसियाको रंगशालामा खेलेको थियो । जसमा, नेपाल मलेसियासँग २–० ले पराजित पनि भयो ।
नेपालको यो खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनुपर्ने थियो । तर, यही खेल विदेशमा हुँदा नेपाली फुटबल टोली र नेपालका फुटबलका पारखीहरू अवसरबाट वञ्चित भयो । यहाँ भएको भए रंगशाला भरिन्थ्यो । उता भएको हुँदा दर्शक न्यून मात्रामा थिए ।
विश्व फुटबलको उच्च निकाय फिफाले दशरथ रंगशालालाई अझै पनि अयोग्य नै घोषित गरिरहेकोले यहाँ अन्तर्राष्ट्रिय फुटबल नभएको हो । दशरथ रंगशाला पुरुषतर्फको अन्तर्राष्ट्रिय खेलको पर्खाइमा रहेको एक वर्ष नाघिसकेको छ ।
यद्यपि महिलातर्फ केही महिनाअघि नै यसै रंगशालामा चार देशीय अन्तर्राष्ट्रिय प्रतियोगिता र महिला साफ च्याम्पियनसिप सम्पन्न भयो । तर, यसका लागि फिफाको स्वीकृत लिनुपर्ने आवश्यक नभएको र खेल्ने टोलीको सहमतिमै खेल्न सकिने एन्फाले बतायो ।
नेपाली पुरुष राष्ट्रिय टोलीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल पछिल्लो पटक २०८० मंसिरमा विश्वकप छनोटअन्तर्गत खेलेको थियो । जसमा, नेपालले यमनविरुद्ध खेलेको थियो । यसपछि भने नेपालले यही विश्वकप छनोटअन्तर्गतका दुई खेल बहराइन र यूएईविरुद्धका होम खेल विदेशमा खेल्नु परेको थियो ।
यसले के दर्शाउँछ भने नेपालसँग कुनै पनि अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला छैन । यसले विश्वमा नकारात्मक सन्देश जाने पक्कै छ । यो नराम्रो सन्देश जानबाट बच्न राष्ट्रिय खेलकुद परिषद् र एन्फाले समन्वय गरेर अगाडि बढ्नुपर्ने हुन्छ । यस विषयमा दुबैले स्विकार पनि गरेका छन् ।
मुख्य कुरा सेफ्टी सर्टिफिकेट (सुरक्षित प्रमाणपत्र) नभएर नै रंगशालामा ती खेलहरू हुन नसकेको हो । एएफसी एशियन कप छनोट २०२७ को छनोट खेल खेलाउन फिफाका प्रतिनिधि नेपाल आएर रंगशालाको निरीक्षण गरेका थिए । सो निरीक्षणमै फिफाका प्रतिनिधिले दशरथ रंगशालाको मापदण्ड अन्तर्राष्ट्रिय स्तरको नभएको भन्दै खेलाउन मानेनन् । यसमा सेफ्टी सर्टिफिकेट नभएर पनि उक्त खेलहरू नेपालले आयोजना गर्न वञ्चित भयो ।
के हो त सेफ्टी सर्टिफिकेट
कुनै पनि ठूल्ठूला प्रतियोगिताका खेलहरू आयोजना गर्न हरेक देशले सेफ्टी सर्टिफिकेट साथमा हुनु आवश्यक छ । यो रंगशाला बलियो छ छैन भन्ने इन्जिनियरिङ प्रमाणपत्र हो । यसमा दर्शक भरिएमा रंगशालाको प्यारापिटले थेग्न सकिन्छ कि सकिँदैन भन्ने स्पष्ट खुलाएको हुन्छ ।
यसबाहेक मैदान खेल्न लायक छ छैन भन्ने पनि निरीक्षण हुन्छ । अर्को फ्लड लाइट कतिको प्रकाश दिन्छ पर्याप्त छ छैन भन्ने पनि निरीक्षण गरिएको हुन्छ ।
नेपाल एएफसी एशिया कप २०२७ अन्तर्गत छनोटतर्फ समूह एफ मा रहेको छ । नेपालले मलेसिया, भियतनाम र लाओससँग खेल्न बाँकी छ । यदि, सबै कागज पुगेपछि एएफसीका प्रतिनिधिले फेरि एकपटक दशरथ रंगशालाको निरीक्षण गर्दछ । यदि, सकारात्मक निर्णय भएमा नेपालले होम खेलहरू दशरथ रंगशालामा खेल्न सक्नेछ । तर, निरीक्षण फेरि फेल भएमा यी नेपालमा खेलिने खेलहरू सबै विदेशमै खेल्नुपर्ने हुन्छ । यसले नेपाली फुटबललाई नोक्सान नै पार्नेछ ।
प्रतिक्रिया दनुहोस्